काठमाडौ । चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।

सङ्घले बेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्ञिक उन्नयन, वैज्ञानिक एवं सिर्जनशील अनुसन्धानको क्षेत्रमा सहयोगको आदानप्रदान, सूचना तथा प्रविधिको आदानप्रदान, वैज्ञानिक सहयोगको नेतृत्व, विज्ञान तथा प्रविधिको विकासका लागि सरकार र नीति निर्मातालाई सुझाव, भूमण्डलीय एवं क्षेत्रीय महत्वपूर्ण विषयमा संयुक्त अनुसन्धानलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ ।

सम्मेलनमा बेल्ट एण्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठान सहभागी भएको त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीले जानकारी दिनुभयो । सङ्घको ३७ वटा संस्थापक सदस्यमध्ये नौ वटा प्राज्ञिक एवम् वैज्ञानिक संस्था गभर्निङ बोर्डमा छनौट भएका हुन् । पहिलो दुईवर्षे कार्यकालका लागि चाइनिज एकेडेमी अफ साइन्सेस अध्यक्षमा चयन भएको छ भने रसियन एकेडेमी अफ साइसेन्स र पाकिस्तान एकेडेमी अफ साइसेन्स सहअध्यक्षका रुपमा चयन भएका छन् । रासस

सम्बन्धित खबरहरु