मङ्गलबारे । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार÷चार करोड विनियोजन गर्नुभएको छ । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गर्नुभएको हो ।

इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याउनुभएको छ । इलाम नगरपालिकामा रु १० लाख विनियोजन गर्नुभएको छ । उहाँले २० योजना छनोट गर्नुभएको हो । यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गर्नुभएको हो ।

नेम्वाङले १७ योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उहाँहरूले योजना छनोट गर्नुभएको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिनुभयो । सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याउनुभएको छ ।

नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि रु ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याउनुभएको हो । सङ्घीय सांसदले रु चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उहाँहरूले बजेट तथा योजना छनोट गर्नुभएको हो । रासस

सम्बन्धित खबरहरु