काठमाडौँ । नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको छ । यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो । सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।

प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिनुभयो । “बयालीस बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उहाँले भन्नुभयो । उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उहाँले बताउनुभयो । हाल काठमाडौँ उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ । सङ्घका महासचिव नुरनाथ पन्तले देशभर यातायात श्रमिकका लागि शौचालयको समस्या रहेको बताउनुभयो । रँसस

सम्बन्धित खबरहरु