काठमाडौ । नारायणहिटी दरबार संग्राहलयका थप १० वटा कक्षहरु सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यसमा तत्कालीन रानीको श्रृङ्गार कक्षदेखि पाहुना सुत्‍ने कक्षहरुसम्म छन् । पर्यटनमन्त्री रविन्द्र अधिकारीले नारायणहिटी दरबारका खुल्न बाँकी १० वटा कक्ष सर्वसाधारणका लागि औपचारिक रुपमा खुल्ला गरे । इलाम, झापा, सुनसरी, सिन्धुली, सिराहा, सप्तरी, औपर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकको कक्ष खुला भयो ।

इलाम कक्षः यो कक्षलाई गणेश हिमाल कार्यकक्ष पनि भनिन्छ । यो कक्षमा तत्कालीन राजाले हप्ताको एक दिन बिहीबार प्रधानमन्त्रीसँग भेट गर्थे । यसमा अन्य बिशिष्ट व्यक्तिहरुसँग पनि भेटवार्ता र छलफल हुन्थ्यो ।

झापा कक्षः यो गणेश हिमाल कार्यकक्षमा छलफल तथा भेटघाट गर्न आउने पाहुनाका लागि प्रतीक्षालयका रुपमा थियो । जसलाई अब सर्वसाधाराणले हेर्न पाउनेछन् ।

सुनसरी कक्षः यो कक्ष जनैपूणिर्माका दिन तत्कालीन राजपरिवारका सदस्यहरुले राजपुरोहितबाट रक्ष बन्धन, जनै फेर्ने लगायतका धार्मिक कार्य गर्न प्रयोग हुन्थ्यो । रात्री भोजका लागि तयार हुने खाना राख्ने कक्ष पनि यही थियो ।

सिन्धुली कक्षः यो श्रृङ्गार कक्ष हो । यसमा तत्कालीन रानीले पोशाक पहिरिने, श्रृङ्गार गर्ने, तथा दिउासोको खानापछि आराम गर्ने गर्थिन् ।

सिराहा कक्षः यो बैठक कक्ष हो । सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा खाना पछि र खाना अघि बसेर छलफल गर्ने कक्ष यही थियो । धुनुषा बैठक कक्षमा बडा दशैंको टिका ग्रहण, विभुषण प्रदान गर्ने लगायतका विशेष कार्यक्रममा पनि यसको प्रयोग हुन्थ्यो ।

सप्तरी कक्षः यो भोजन कक्ष थियो । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवको अवसरमा धनुषा बैठकमा आयोजना हुने पाहुनाहरुको भोजन गर्ने कक्षका रुपमा यसको प्रयोग गरिन्थ्यो ।

पर्सा, चितवन र कपिलवस्तु कक्षः यी राजदरबारका पाहुनाहरुको सयन कक्ष हो । जसमा दरबारमा आएका राजपरिवारका सदस्य र राष्ट्रप्रमुख तथा सरकार प्रमुख आउँदा साथै आएका पाहुना बस्थे ।
यस्तै राजाका अंगरक्षक (एडीसी) हरुको कार्य कक्ष पनि खुला गरिएको छ ।

पर्यटन मन्त्री अधिकारीले अब दरबारमा फिल्म थिएटर र पुस्तकालय मात्रै सर्वसाधारणका लागि खोल्न बाँकी रहेको बताए । उनका अनुसार यी दुई कक्ष पनि खोलेपछि नारायणहिटी दरबार रहस्यमय नरहने बताए । संग्राहलयमा श्रीपेचसहित राजदण्ड पनि प्रदर्शनमा राखिसकिएको छ । संग्राहलयमा कुल ५२ वटा कक्ष भएपनि ३१ वटा मात्रै खुला भएको छ । दरबारको एक भाग पूर्व मुमाबडामहारानीले जीवन पर्यन्त उपभोग गर्न पाउने गरी सरकारले अनुमति दिएकाले अरु २२ कक्ष भने ततकालै खोल्न नसकिने दरबार संग्राहलयले जनाएको छ ।

सम्बन्धित खबरहरु