काठमाडौं । मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी मिस वर्ल्ड जित्ने दाउमा छिन्। सोही विचारधाराका नेताहरुले नै उनको समर्थन गर्दै उनलाई जिताउन अपिलसमेत गरेका छन्। यस कार्यको समर्थन तथा विरोध दुवै थरीका विचारले सामाजिक सञ्जाल राँकिएको छ।

  • नेपालीहरुको गर्वको विषय ?

नेपालकी पहिलो मिस नेपाल १९९४ रुवी राना मिस वर्ल्डमा श्रृङ्खला खतिवडा सहभागी हुनु र उनले विश्व सुन्दरीको ताज पहिरिनु नेपालकै लागि गर्वको विषय हुने धारणा राख्छिन्। उनी भन्छिन्, “श्रृङ्खलाले विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर विश्वसुन्दरीको ताज पहिरिनु नेपालको लागि ऐतिहासिक उपलब्धी हो। यसले छायामा रहेको नेपाललाई केही हदसम्म भए पनि मिस वर्ल्ड श्रृङ्खला खतिवडाको देश भनेर विश्वसामु चिनाउने काम गर्छ। यो सबै नेपालीहरुको लागि गर्वको विषय हो।”

‘कुनै पनि सौन्दर्य प्रतियोगितामा शरीर सुन्दर भएर मात्र जित हासिल गर्न सकिँदैन’ उनले भनिन्, “यो शारीरिक सौन्दर्यसँगै बौद्धिक क्षमतामाको पनि प्रतिस्पर्धा हो। सौन्दर्य प्रतियोगिताहरुबाट विजयी भएकाले नै नेपालमा हिडेन ट्रेजर नामक संस्था चलाएर सामाजिक विकासका कार्यहरुमा पनि योगदान दिइरहेका कुरालाई हामीले बिर्सनु हुँदैन।”

सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिए नेपाललाई बहुपक्षीय उपलब्धी हुने बताउँछिन्, “श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिनु भनेको नेपाललाई धेरै थरीको फाइदा हुनु हो। सबैभन्दा बढी त यसले नेपाललाई विश्वसामु चिनाउने काम गर्छ। पहिचानसँगै पर्यटन बढाउन पनि यसले मद्दत गर्छ।” उनी भन्छिन्, “नेपालमा सामाजिक आर्थिक क्षेत्रको विकासमा पनि यसले निकै टेवा पुर्‍याउँछ। विश्वका बहुद्देश्यीय कम्पनीहरुको ध्यान नेपालतर्फ आकर्षित गरी आर्थिक लगानी भित्र्याउन सहयोग गर्छ। नेपाल आर्थिक रुपमा पनि समृद्ध हुन्छ।” अन्नपुर्ण पोस्टबाट

सम्बन्धित खबरहरु