बर्दिया । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ गते देखि फाल्गुण ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका खेलाडी छनौटको प्रकृया सुरु भएको हो । बर्दियाबाट कबड्डी खेलका महिला तथा पुरुष खेलाडीका लागि जिल्ला खेलकुद विकास समिति बर्दिया र जिल्ला कबड्डी संघ बर्दियाको संयुक्त आयोजनामा कबड्डी छनौट प्रकृया सुरु भएको हो । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने कबड्डी खेलका खेलाडीहरु छनौटका लागि जिल्ला भरिबाट सहभागी टिमहरु बिच यहि मंसिर १८ र १९ गते प्रतिस्पर्धा गराई एक जिल्ला स्तरिय पुरुष र महिला टिम बनाई बन्द प्रशिक्षणमा राखिने जनाईएको छ ।

जिल्ला खेलकुद विकास समिति बर्दियाका कोषध्यक्ष तीर्थ आचार्यको अध्यक्षता एवम् मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा जिल्ला कबड्डी संघका अध्यक्ष अंगद श्रेष्ठ, नेकपा जिल्ला कार्य दलका सदस्य लक्ष्मी प्रसाद शर्मा एवम् विभिन्न वडाका अध्यक्षहरु तथा कबड्डी संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । छनौट प्रकृयामा प्रशिक्षक लोक बहादुर बिष्ट, मोतिकला थारु, दयाराम थारुले प्राविधिकको रुपमा भुमिका निर्वाह गरेका थिए भने उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले संचालन गरेका थिए ।

सम्बन्धित खबरहरु