रितिक अधिकारी, सर्लाही । अज्ञात समूहले पेस्तोल देखाएर सर्लाहीको बाँके जङ्गलमा आज दिउँसो झण्डै दस लाख रुपिँया लुटेर लगेको छ । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट ९ लाख ९० हजार रुपिँया लुटपाट भएको हो । लालबन्दीस्थित नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट रकम लिएर जाँदै गर्दा आज दिउँसो साँढे १ बजेतिर दुई वटा मोटरसाइकल चढेर आएका चार जना नचिनेका मानिसले आफ्नो साथमा रहेको झोलाबाट रकम लुटेर फरार भएका महतोले बताउनु भएको छ ।

ना ५५ प ९५६३ नं। को मोटरसाइकलमा जाँदै गरेका महतोलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चौकबाट करिव अढाई किलोमिटर दक्षिण निर्माणाधीन रेलमार्ग नजिक नचिनेका मानिसले हतियार देखाएर रकम लुटपाट गरेका हुन् । कार्यालयबाट पैंसा लिन आइरहने कर्मचारी आज बिदामा बसेका थिए, त्यसैले म एक्लै पैंसा लिन आएको थिए, महतोले भन्नुभयो,‘ दक्षिणतर्फबाट आइरहेको एउटा टिपर पछि–पछि आइरहेका उनीहरुले म पुगेको ठाउँबाट टिपर कट्ने बित्तिकै मलाई मोटरसाइकल रोक्न लगाए, त्यसपछि टाउको र हातमा हिर्काएर झोला खोसेर लगे ।’

आफ्नो साथबाट पैंसा लुटिने बित्तिकै प्रहरीमा खबर गरेको महतोले बताउनुभयो । सर्लाही प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । जिल्लाको सबैक्षेत्रमा मोटरसाइकल रोकेर कडाईका साथ चेकजाँच गरेर लुटपाटमा संलग्नहरुको खोजी गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिनुभयो । लुटपाट हुने बित्तिकै सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल आफै चोरी भएको घटनास्थल बाँके जङ्गल आइपुग्नु भएको छ ।

सुनसान र प्रहरी प्रशासनको समेत उपस्थित कम रहेको सर्लाही र महोत्तरीको सीमा क्षेत्रमा पर्ने बाँके जङ्गल क्षेत्रमा पछिल्लो समय लुटपाटको घटनामा कमी आएको थियो । तर केही वर्षअघि सम्म व्यापक चोरी–डकैती हुने बाँके जङ्गल क्षेत्रमा आज पुनः लुटपाट भएको हो । यता पछिल्लो समय लालबन्दी बजारका विभिन्न वैंकहरुबाट ठूलो मात्रामा रकम निकालेर लाँदा समेत सहकारी संस्थाले प्रहरी प्रशासनसँग समन्वय गर्न छाडेका छन् । एक प्रहरी अधिकृतले अनुसार यसरी प्रहरीलाई थाहा नै नदिई धेरै–धेरै रकम झिकेर ग्रामीण बाटोहुँदै लाने गरेकाले लुटपाटको त्रास बढेको बताउनुभयो ।

सम्बन्धित खबरहरु