काठमाडौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको घटनामा काठमाडौंवाट पक्राउ परेका प्रदीप रावलले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले प्रहरीसंगको बयानमा आफुले हत्या गरेको स्वीकार गरेका हुन् । निर्मलाको साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना भएको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि प्रहरी प्रमुख आइजिपी सर्वेन्द्र खनाल यो घटनामा आफै संलग्न भएर अनुसन्धान सुरु गरेका छन् ।

केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा उनीसंग बयान लिइएको हो । उनले बयानमा घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ।

सीआईबीले रावलसँग गएराति १० बजेदेखि २ बजे बिहान सम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ।

यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ। निर्मलाको छिमेकी रहेका उनी निर्मलाको हत्या भएपछि हराएका थिए । उनका बुवा आमा भने भारतमा बस्दै आएका छन् । उनलाई पनि भारतमै रहेको बताइएको थियो ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। उनले आफु चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको पनि प्रहरी सामु बताएका छन् ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए। सीआईबी स्रोतले रावलमाथिको थप अनुसन्धान डीएनए रिपोर्ट आएपछि हुने जानकारी दिएको छ।

सम्बन्धित खबरहरु