अकबरे खुर्सानी बेचेर दुई लाख भन्दा धेरैं आम्दानी ! [खुर्सानीको महत्व जानौं-सेयर गरौं]


कुश्मा । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो । आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल हुनुभएको छ ।

उहाँले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताउनुभयो । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उहाँको योजना छ । गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयान हुनेक्रम घट्दै गएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गर्नुभएको छ । अहिले अकबरे खुर्सानी मात्र लगाउनुभएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताउनुभयो । यसका लागि उहाँले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसक्नुभएको छ ।

युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला– ५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ । यो खुशीको कुरा हो ।” रासस

प्रतिक्रिया दिनुहोस्