काठमाडौ । प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा पर्नुभएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँदै हुनुुहुन्छ ।

को हुन् जबरा ?

काठमाडौंका स्थायी बासिन्दा जबरा २८ मंसिर २०१४ मा जन्मिएका हुन् । २०३६ सालदेखि २०५२ सालसम्म कानून व्यवसायीको रुपमा सक्रिय रहेका जबरा ३ वैशाख २०५३ मा पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनले केही वर्ष विशेष अदालतको न्यायाधीशका रुपमा समेत न्याय सम्पादन कार्य गरे ।

२०७१ जेठमा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका जबराविरुद्ध संसदीय सुनुवाई समितिका सदस्यलाई नै २ करोड रुपैयाँ घुस दिएको उजुरी परेको थियो । संसदीय सुनुवाईका क्रममा तत्कालीन संसदीय सुनुवाई विशेष समितिका सदस्यले सांसदलाई नै घुस दिएको विषयबारे प्रश्न गरेका थिए । जबरा पुनरावेदन अदालत विराटनगरको न्यायाधीश हुँदा गरेको एक फैसलाका कारण पनि विवादमा परेका थिए । पुनरावेदन अदालत विराटनगरका अर्का न्यायाधीश श्यामबहादुर प्रधानसहितको इजलाशबाट ११ साउन २०५८ मा जबराले तासको म्यारिज खेललाई जुवा भन्न नमिल्ने भन्दै फैसला सुनाएका थिए ।

१३ जेठ २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका जबरा प्रधानन्यायाधीशमा नियुक्त भए २८ मंसिर २०७९ सम्म पदमा रहनेछन् । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जबरा संसदीय सुनुवाईबाट स्वीकृत भएमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

सम्बन्धित खबरहरु