भक्तपुर । इजरायल प्रवासी नेपाली एकता मञ्चले भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका मिर्गौला रोगीलाई सहयोग रकम प्रदान गरेको छ । आज अस्पताल परिसरमा प्रदेश नं ३ का सांसद शशिजंग थापाले मञ्चले सङ्कलन गरेको रु ५७ हजार दुवै मिर्गौलाले काम गर्न छोडी डायलासिस गराइरहेका बझाङ सैना पसेला गाउँपालिकाका २४ वर्षीय दीपकबहादुर थामीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

इजरायलमा काम गरेर बसेका प्रवासी नेपालीबाट भैरव अर्याल, सोमप्रसाद चौलागाईं, ज्योति शर्मा, कमला राईसमेतले रकम सङ्कलन गरी बिरामीलाई भेटेर अन्य सामग्रीसमेत प्रदान गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्य शशिजंग थापाले विदेशमा रहेका प्रवासी नेपालीबाट बिरामीका लागि सहयोग जुट्नु गौरवको कुरा भएको बताउँदै उपचार नपाएर ज्यान जाने अवस्था नेपालबाट अन्त्य हुनुपर्ने आँैल्याउनुभयो ।

थामीका आफ्नै आमा ४५ वर्षकी कमलादेवी थामीले छोराको लागि मिर्गौला दान दिने भएपछि त्यसका लागि आवश्यक रकम जोहो गर्न शुरु गरिएको रकम सङ्कलनको पहलमा लागेका झौखेलका रामेश्वर थापाले बताउनुभयो । उहाँले आर्थिक अवस्था निकै कमजोर रहेका मिर्गौलापीडित थामीलाई आर्थिक सहयोग जुटाइदिन उहाँले सबैमा आग्रह गर्नुभयो । रासस

सम्बन्धित खबरहरु