काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले विभागीय टोली आर्मीसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा थ्री स्टार र आर्मीले एक÷एक गोलको बराबरी खेल खेल्दै अङ्क बाँडेका हुन् । पहिलो हाफ बराबरीमा सकिएको प्रतिष्पर्धात्मक खेलको ७० आँै मिनेटमा निराजन खड्काको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । फरवार्ड जर्ज प्रिन्स कार्कीले खेल सकिन दुई मिनेट मात्र बाँकी हुँदा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै आर्मीलाई एक अङ्क दिलाउन सफल भए ।

बराबरीसँगै थ्री स्टार र आर्मीको उपाधि होड कमजोर बनेको छ । जारी लिगमा मनाङ मस्र्याङ्दीसँग मात्र पराजित थ्रीस्टार आज आर्मीसँग अङ्क बाँड्न बाध्य भएको हो । थ्री स्टारको नौ खेलबाट २२ अङ्क भएको छ । तेस्रो स्थानमा रहेको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा पाँच अङ्कले पछाडि परेको छ । लिगमा शत प्रतिशत नतिजा निकालेको मनाङ नौ खेलबाट २७ अङ्कका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा मनाङ्लाई टक्कर दिइरहेको सङ्कटा २४ अङ्कका साथ लिगको दोस्रोस्थानमा छ ।

सम्बन्धित खबरहरु