काठमाडौं । कुरिलो एक औषधिजन्य वनस्पति हो। यसलाई संस्कृतमा सदावर, नारायणी, सत्तवती, सदविर्य, बहुसुधा, सतमुली आदि नामले चिनिन्छ। यो नेपालका सबैजसो भूभागमा बहुवर्गीय लहरायुक्त वनस्पति हो। काँडा सहितको काण्ड मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरू हुन्छन फल चाहिँ केराउका दाना जत्रा कडा र विजयुक्त हुन्छन्। पाकेपछि फल राता र निला रङका हुन्छन्।

यसका जरा सेता आकारका र औँला जतिकै मसिनो र धेरै संख्याका हुन्छन्। आर्युवेदमा यसलाई बुद्धिवर्द्धक अग्निवर्द्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरिन्छ। खासगरी यसको जरालाई विभिन्न रोगहरूमा अत्यन्त लाभघार औषधिको रुपमा प्रयोग गरिन्छ ।

कुरिलोको सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाको दूध आउन छाडे दूधको वृद्धि गर्न पिसाब पोल्ने समस्यामा कामोत्तेजना वृद्धिका लागी अनिद्रा भोक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटको ट्युमर घाँटीमा भएको सङ्क्रमण ब्रोङकाइटिस लगायतका रोगमा यसको जरा र काण्डको प्रयोग उत्तम मानिन्छ ।

साथै स्त्री पुरुष दुवैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दूधसँग सेवन गर्नाले अप्रत्याशित लाभ हुन्छ। त्यसको कलिलो मुन्टा तरकारीको रुपमा खाइन्छ।

केही फाईदाहरु
कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

कुरिलो खेती प्रविधि : कुरिलो एक बहुवर्षिय तरकारी बाली हो । यो कलिलो टुसा को लागि खेती गरिन्छ । यसको बोटलाई फर्न, जरालाई क्राउन र खाने भागलाई स्पेयर भनिन्छ । यो एस्पारागेसी परिवार अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम ‘एस्पारागस अफिसिनालिस’ हो ।

यसको भाले र पोथीको छुटटा छुटटै बोट हुने गर्दछ । भाले बोटबाट निस्कने टुसाहरु केही मसिना भएपनि पोथी बोटको तुलनामा बढी उत्पादन दिन्छन् । कुरिलोलाई एक पटक लगाएपछि कम्तिामा २० वर्षसम्म उत्पादन लिइरहन सकिन्छ । यसको उत्पति मध्य–एसिया, रुस तथा उत्तरी युरोपमा भएको मानिन्छ ।

हावापानी : उष्ण तथा समशितोष्ण हावापानी भएको स्थानमा कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ । कुरिलो खेतीको लागि हिँउदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो हुन्छ । यसको लागि १८–२० डिग्री सेल्सियस औसत तापक्रम भएको क्षेत्र राम्रो मानिन्छ ।

कुरिलोको बोटको बृद्धि र विकासको लागि दिनको तापक्रम २३–२९ डिग्री सेल्सियस र रातको तापक्रम १३–१८ डिग्री सेल्सियस हुनुपर्दछ । कुरिलो खेतीबाट राम्रो उत्पादन पाउनकोलागि ३–५ महिना बोट सुसुप्त अवस्थामा रहनु आवश्यक पर्दछ । यस अवस्थाको लागि माटोको ताफक्रम १० डिग्री सेल्सियस भन्दा तल रहनुपर्दछ ।

जग्गाको छनौट ” : सिँचाई र निकासको राम्रो व्यवस्था भएको पारिलो जग्गा कुरिलो खेतीको लागी छान्नु पर्दछ । बहुवर्षिय प्रकारका झारपातको प्रकोप बढी भएको जग्गा राम्रो हुँदैन ।

माटो : प्रसस्त मात्रामा प्राराँगारिक पदार्थ भएको माटो कुरिलो खेतीको लागि राम्रो हुन्छ । यसको जरा करिब ५–१० फिटसम्म गहिरो जाने भएको हुँदा गहिरो, खुकुलो, दुमट खालको माटोमा विरुवाको बृद्धि र विकास राम्रो हुन्छ , फलस्वरुप उत्पादन पनि बढी हुन्छ । कुरिलो खेतिको लागि माटोको पि.एच. ६–७.५ राम्रो मानिन्छ ।

नर्सरीमा बीउबाट बेर्ना उत्पादन गर्ने तरिका : कुरिलो बीउ नर्सरीमा जमाउने उपयुक्त समय माघ महिना हो । नर्सरीको लागि जग्गा छनौट गर्दा पारिलो र तुषारो नपर्ने ठाउँ रोज्नुपर्दछ ।

नर्सरी बेड तयार गर्दा बेडको चौडाई करिब १ मिटर वा सो भन्दा केही कम गर्नु पर्दछ भने लम्बाई जग्गाको उपलब्धतामा भर पर्दछ । नर्सरी बेड तयार गर्दा माटोलाई २–३ पटक खनजोत गरी बुर्बुराउने पार्नुपर्दछ । बेड तयार गर्र्दा १०–१५ सेमी अग्लो बनाउनुपर्दछ । राम्रोसँग कुहिएको गोबर मल वा कम्पोष्ट मललाई जग्गाको अन्तिम तयारीको बेला बेडमा मिलाउनुपर्दछ ।

यसरी तयार गरेको बेडमा करिब १५–२० सेमी भन्दा गहिरो गरी रोप्नु हुदैन । १ किलो कुरिलोको बीउ नर्सरीमा जमाउनको लागि १,००० वर्गमिटर क्षेत्रफल आवश्यक पर्दछ । यसबाट करिब २५००० बेर्ना तयार हुन्छ जसले १ हेक्टर जमिनमा रोप्नको लागि पुग्दछ । बीउ रोप्नु भन्दा पहिले करिब ३–४ दिनसम्म ३०–३५ डिग्री सेल्सियस ताफक्रममा भिजाउनुपर्दछ । बीउ रोपेको करिब २०–३० दिनमा उम्रन शुरु गर्दछ ।

जग्गाको तयारी : ट्रेन्च तरिकाबाट मुख्य जमिनमा कुरिलो रोप्नको लागि ९० सेमीको दुरीमा २० सेमी गहिराई र ३० सेमी चौडाई भएको कुलो बनाएर त्यसमा सिफारिस गरिएको मात्राको मलखाद हालेर पुर्नुपर्दछ । क्राउन रोप्ने गहिराई २० सेमी भएपनि चिम्टाईलो खालको माटोमा रोप्ने गहिराई घटाउनु पर्दछ ।

पुरिएको मल माथिबाट क्राउन राखी राम्रोसँग जरा फिँजाएर राखी पहिले ५ सेमी माथिबाट माटोले पुर्नुपर्दछ । पछि विरुवा बढदै जाने क्रममा माटोले पुर्दै जानुपर्दछ र पहिले वर्षमा पुर्ने काम पुरै सक्नुपर्दछ , कुलो पुर्दा करिब ५–७ सेमी जमिनबाट माथि उठाई डयाङग बनाउनु पर्दछ ।

टे«न्च नबनाईकन पनि कुरिलो विरुवा रोप्न सकिन्छ । यसको लागि पहिले २–३ पटक जमिनलाई खनजोत गरी सिफारिस मात्राको मलखाद माटोमा मिलाएर जमिन तयार गर्नुपर्दछ । यसरी तयार गरेको जमिनमा सिफारिस गरिएको दुरीमा विरुवा रोप्नुपर्दछ ।
मलखाद :

कम्पोष्ट मल ३० मे. टन, युरिया १०० किलो, डिएपी ६० किलो र म्युरेट अफ पोटास ६० किलो प्रति हेक्टर प्रतिवर्षको दरले पटक–पटक गरी माटोमा दिनुपर्दछ । विरुवालाई फस्फोरसको आवश्यकता अधिक पर्ने भएको हुनाले रोप्ने बेलामा प्रतिबोट २०–२५ ग्राम हडडीको धुलो दिनु राम्रो मानिन्छ ।

यसका आलाबा विरुवालाई सोडिएम तत्व बढी मात्रामा चाहिने भएको हुँदा प्रतिवर्ष एक बोटमा ५ ग्रामको दरले नुन हाल्नुपर्दछ । अतः रोपेको दोस्रो वर्षदेखि प्रत्येक बोटलाई करिब १.५ –३ किलोसम्म कम्पोष्ट मल र माथि सिफारिस गरिएको मात्राको आधारमा रासायनिक मल दिनुपर्दछ ।

कुरिलोलाई मल दिने उपयुक्त समय जाडो महिनाको अन्त्यतिर हो तर नाईट्रोजनको दुईभाग मध्ये दोस्रो मात्रा बालाी लिईसकेपछि तुरुन्तै दिनुपर्दछ । तर बागवानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराको १० वर्षको अनुभवमा बिना रासायनिक मल र नुन नराखिकन पनि कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ भनेर प्रमाणित भएको
छ ।

कुरिलोको जातहरु : नेपालमा आयात भएको अमेरिकन वर्णशँकर भालेजातका कुरिलोहरुमा जर्सि किँग, जर्सी सुप्रिम, जर्सी जेम, जर्सी नाइट आदि हुन । कुरिलोका अन्य जातहरुमा कोनोभर्स कोलोसाल, गायन्ट म्यामोथ, मार्था वासिङगटन, मेरी वासिंगटन, मिनभ, सटन्स पर्फेक्सन, लोरेल्ला आदि महत्वपूर्ण छन् ।

आवश्यक विरुवाको सँख्या प्रति हेक्टर : २४,०००–२५,००० क्राउन प्रतिहेक्टर । रोप्ने दुरी : ९० गुणा ४५ सेमी । क्राउनको साईज : ३०–५० ग्राम ।

रोप्ने समय : जाडो महिनाको अन्त्यदेखि वसन्त ऋतुभरि कुरिलोको रोप्ने उपयुक्त समय भएपनि चैत्रदेखि साउनसम्म रोप्न सकिन्छ ।

सिँचाई : सिँचाई मुख्य गरेर माटोको बनोट, बुनोट, मौसम र बालीको अवस्था अनुसार दिनुपर्दछ । प्रथम सिँचाई बाली रोपेपछि तुरुन्तै दिनुपर्छ भने फाल्गुन महिनादेखि टुसा आउन थाल्ने हुँदा आवश्यकता अनुसार ४–५ दिनको फरकमा सिँचाई गर्नुपर्दछ ।
गोडमेल : कुरिलो बहुबर्षिय बाली भएकोले झारपातहरु पनि बहुबर्षिय प्रकारकै बढी हुन्छन् । त्यसैले समय समयमा गोडमेल गरिराख्नुपर्दछ ।

टुसा का्टने तरिका : साधारणतया कुरिलो टुसाको उत्पादन दोस्रो वर्षदेखि सुरु हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि २० वर्षसम्म उत्पादन लिन सकिन्छ । सामान्यतया टुसाको उचाई १५–२० सेमी भएपछि धािरलो चक्कुले करिब ४–५ सेमी माटो भित्रैबाट काटेर निकाल्नुपर्दछ ।

रोगहरु :
कुरिलो सिन्दुरे रोग : यो रोग पक्सिनिया नामको ढुसीद्धारा लाग्ने गर्दछ । यसको मुख्य लक्षण डाँट र हाँगाहरुमा साना, राता तथा पहेँला रँगका थोप्लाहरु देखिन्छन् । १ लिटर गाईको पिसाब ८–१० भाग पानीमा मिलाई छरेमा नियन्त्रण गर्न सकिन्छ ।
कुरिलो ओइलाउने रोग : यो रो फयुजारियम् नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेको विरुवा पहेँलो खैरो तथा रँग उडेको जस्तो देखिन्छ । यसको नियन्त्रण गर्न स्वस्थ्य नर्सरीका विरुवा प्रयोग गर्ने, पानीको निकास राम्रो गर्ने । यसका जिवाणुहरु माटोमा बस्ने भएको हुँदा रोगी माटोमा खेती गर्नु हुँदैन ।

कीराहरु :
कुरिलोको खपटे कीरा : यसको माउ तथा बच्चा (ग्रुब) ले काण्ड र पातमा खाएर नोक्सान पुरयाउदछन् । यसको नियन्त्रणको लागी कीराको आक्रमण देखिने वित्तिकै नुमान २ मि.लि. प्रतिलिटर पानीका दरले पात तथा काण्ड भिज्ने गरी छर्नु पर्दछ ।

झुसिलकीरा : यसले विरुवाहरुको हाँगाविँगालाई खाएर नोक्सान पुरयाउँदछ । यसको नियन्त्रण गर्न नुभान २ एम एल प्रतिलिटर पानीमा राखी बोटमा छर्नुपर्दछ ।

उत्पादन : बहुबर्षिय बाली भएको हुँदा कुरिलो्को उत्पादन सुरुका बर्षहरुमा केही काम भएपनि ८–१० बर्षमा उत्पादन उच्च हुन थाल्छ । राम्रोसँग व्यवस्थापन गरेमा टुसाको उत्पादन तेस्रो बर्षमा १,००० किलो, चौथो बर्षमा २,००० किलो तथा पाँचौ बर्षमा करिब ३,००० किलो प्रति हेक्टरसम्म हुन्छ ।

सम्बन्धित खबरहरु