मोरङ । प्रदेश १ को नाम र राजधानीको विषय अझै अन्यौलमै रहेका बेला नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय भइसकेको छ । यद्यपि, त्यो निर्णय अझै सार्वजनिक भएको छैन । उक्त निर्णय भएको हो या होइन भन्ने विषय थाहा पाउन भने प्रक्रिया नै कुर्नुपर्ने अबस्था रहेको छ । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा भएका पटक पटकका प्रयास असफल भईरहँदा यस्तो रहस्य सार्बजनिक भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिरहेको छ भने प्रदेश सरकारले भने अधिवेशन बोलाउन हालसम्म कुनै तयारी गरेको छैन । प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशन पुसभित्र सुरु हुने सम्भावना समेत कम बन्दै गएको छ । प्रदेश १ को तेस्रो अधिवेशन अर्थात् हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण र राजधानी तोक्ने र संसदको समितिलाई पूर्णता दिने, संसदीय समितिका काम अगाडि बढाउने र १ दर्जन बढी कानुन बनाउनु पर्ने दायित्व भएपनि उक्त दायित्व निर्वाह गर्नका लागि सरकारले संसदको अधिवेशन आह्वान गर्ने तयारी भने अझै गरेको छैन ।

वर्षे अधिवेशन सम्पन्न हुनुअघि सर्वदलीय बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले मंसिरको सुरुमै हिउँदे अधिवेशन आह्वान गर्ने यसअघि नै बताएका थिए । त्यसपछि गत मंसिर १७ गते पत्रकारहरु सँगकोे कुराकानीका क्रममा पुसको पहिलो साता संसदको तेस्रो अधिवेशन आह्वान गर्ने मुख्यमन्त्री राईले बताएपनि संसदको अधिवेशन आह्वान गर्ने विषयमा अहिलेसम्म कुनै तयारी भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न ढिलाई गरेको भन्दै सरकारको विरोध गर्दै आएको छ । कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले सरकारले प्रदेशको नाम र राजधानीको विषयमा ठोस प्रस्ताव तयार गर्न नसक्दा संसद अधिवेशन आह्वान गर्न ढिलाई गरेको दाबी गरेका छन । ‘अधिवेशन सुरु हुनका लागि अझै समय लाग्ने र पुस अन्तिम या माघ महिना पुग्न सक्ने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की बताउँछन ।

सम्बन्धित खबरहरु