काठमाडौं। सिमसिमे पानीमा, ज्यानले बैमान गर्छ कि जिन्दगानीमा‘गीतबाट चर्चा पाएकी गायिका रेखा शाह यतिबेला सुदूरपश्चिमेली भाका लिएर दर्शकमाझ आएकी छन् । गायिका भएपछि सबै स्वाद दर्शकलाई दिन सक्नुपर्छ भनेर यस पटक आफूले सुदूरपश्चिमेली भाकामा नयाँ गीत ल्याएको उनले बताइन् ।

उनले ‘सुई तमी कर्णाली पारि छौ, म त वारि चुँड्या छ तुइनु‘’ बोलको गीत रिलिज गरेकी हुन् । भाकाको हिसाबले सुरुमा यो गीत उनलाई केही अनौठो लागे पनि गाउँदै गएपछि साह्रै मन परेको उनको भनाइ छ । सुदूरपश्चिमको जनजीवनको झल्को गीतले दिएको छ । सुदूरपश्चिमको जनजीवनको लवज, संस्कृति र जीवन भोगाइ र दुःखलाई समेटिएका कारण पनि आफूले गीत गाएको रेखाको कथन छ । सिमसिमे पानी गाएको २५ वर्षपछि फेरि त्यस्तै कालजयी गीत पाएको पनि उनको दाबी छ ।

गीतलाई संगीतकार दीपक शर्माले लेखेका हुन् । शर्माले आफूले सुदूरपश्चिम पुगेर गीतको संकलन गरेको बताए । गीतको संगीत पनि दीपकले नै सिर्जना गरेका हुन् । दीपकका अुनसार संगीत पनि सुदूरपश्चिमेली शैलीमा छ । उनले यो गीतको भिडियो युट्युबबाट सार्वजनिक गरेकी हुन् । गीतको भिडियोको निर्देशन नितिन चन्दले गरेका छन् । जसमा अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानको अभिनय छ । गायिका रेखाको सिमसिमे पानीमासँगै नजि नजिक छौ तिमी‘, तिमीलाई केही हुँदै नहोस्‘, पोखूँ भनेलगायतका तीन दर्जन बढी गीत चर्चित छन् ।

सम्बन्धित खबरहरु