सुर्खेत । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् ।

उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् ।

संविधानमा छुवाछुत गर्न नपाईने भए पनि नेपाली समाजमा अहिले पनि यस्ता प्रकारका समस्या रहेका छन । चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सम्बन्धित खबरहरु