काठमाडौ । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्कनुभएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताउनुभयो । “पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ”–उहाँको भनाइ थियो ।

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताउनुभयो । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भन्नुभयो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले भन्नुभयो । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको बताउनुभयो ।

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु