काठमाडौं । सयौं थुंगा फुलका हामी, राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयता अलि असहज महसुस गर्दैआएका राई गए राति शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।

विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्तपछि सामाजिक सेवामा संलग्न थिए । आदर्श र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए । पिताको निधनको खबर सुनेलगत्तै ललितपुर तिखिदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार बिहानै ओखलढुङ्गातर्फ गएका छन् । स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ । स्व राईका दुई श्रीमती र तीन छोरा छन् । रासस

सम्बन्धित खबरहरु