जाजरकोट । जलवायु परिवर्तनसँगैं नेपाल लगायतका देशहरुमा यसको असर देखा पर्न थालेको छ ।

विगतमा फागुनमा फुल्ने लालीगुराँस यो वर्ष मंसिर–पुसमै ढकमक्क भएको छ । जलवायु परिवर्तन प्रभावका कारण केही वर्षयता लालीगुराँस छिट्टै फुल्न थालेको हो ।

लालीगुराँस फुल्न लागेसँगै जाजरकोटमा जंगल राताम्मे बन्न थालेका छन् । कुशे गाउँपालिका ५, पाँचकाटियाको जंगलमा एक महिनापुर्व नै लालीगुराँस फुलेको जनाइएको छ ।

झण्डैं दुई महिना पहिले नैं गुराँस फुलेपछि स्थानीय अचम्मित बनेका छन् । करिब २ हजार मिटर उचाइमा रहेका पाँचकाटिया,कर्कले, कोदारीलगायत जंगलमा लालीगुराँस ढकमक्क फुलेका छन् ।

प्रजाति र ठाउँको उचाइनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने डिभिजन वन कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर चन्दले जानकारी दिए ।

“केही जलवायु परिवर्तनको प्रभाव हो, केही प्रजाति विशेषता हो,” उनकानुसार विभिन्न कारणले फूल्ने समयमा फेरबदल भइरहेको हुन्छ । उनले अध्ययनपछि मात्र सबै कुरा पत्ता लाग्ने जनाए ।

समुद्र सतहबाट १ हजार ३ सय मिटरदेखि ३ हजार मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन र चैत महिना भएको चन्दले बताए । तर पछिल्लो समय जलवायु परिवर्तनले मंसिर र पुसमै लालीगुराँस फुल्न थालेको उनको भनाइ छ ।

“समुद्री सतहको वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु जलवायुजन्य परिवर्तन हो,” उनले भने, “जलवायु परिवर्तनका कारण बोटबिरुवा मात्र हैन, मानिसलगायत प्राणीमा पनि विभिन्न परिवर्तन देखा पर्छन्।’ उनले न्यूनीकरणमा समयमै ध्यान नदिए बोटबिरुवा र प्राणी संकटमा पर्ने अवस्था आउने जनाए ।

 

सम्बन्धित खबरहरु