काठमाडौ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका नर्सहरुलाई आवश्यक दरबन्दी थप गरेर व्यवस्थापन गर्ने भएको छ । मुलुकका विभिन्न अस्पतालहरुमा नर्सको अभाव र जनसंख्या अनुसारको नर्स अस्पतालमा नहुँदा सरकारले उक्त समस्या समाधान गर्न नर्सको दरबन्दी थप गर्ने र रिक्त दरबन्दीमा यथाशिघ्र चाँडै नर्स पठाउने तयारी थालेको छ । यसका लागि लोक सेवालाई लेखी पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

सम्बन्धित रोग र विभागका विशेषज्ञ नर्सहरुको व्यवस्थापन गर्न सरकारले अस्पतालहरुमा दरबन्दी थप गरेर नर्स पठाउने र जहाँ बिरामीको अनुपात अनुसार नर्स छैनन् त्यहाँपनि नर्सको दरबन्दी थप गर्ने गरी तयारी भइरहेको जानकारी दिए । सरकारले दरबन्दी पठाएपछि देशभरी नै एकैपटक ठूलो संख्यामा नर्सहरुको जागिर खुल्नेछ ।

उनले भने, ‘नेपालमै वर्षेनी ५ हजार भन्दा बढिको नर्स उत्पादन हुने तर उनीहरुले काम नपाउने समस्यालाई अब सरकारले समाधान गर्दै बिरामी अनुपातमा नर्स पठाउने तयारी हुँदैछ ।’ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ५ जना बिरामी बराबर एक नर्सको मान्यता अब नेपालमा पनि लागु गर्नेगरी नेपालमा भएका नर्सहरुको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । यस विषयमा मन्त्रालय छलफलमा जुटेको भन्दै प्रवक्ता श्रेष्ठले अब बिरामीले नर्सको सेवा पाउनुका साथै नर्सहरु वेरोजगार बस्नुपर्ने समस्या पनि समाधान हुने बताए ।

सम्बन्धित खबरहरु