सोलुखुम्बु । नेपाल संघीय प्रणलीमा गएसँगैं आर्थिक रुपमा थप कमजोर बनेको छ । अहिले गाउँगाउँमा सबैंको हात्तमा अधिकार दिइएको हुँदा मनोमानि चल्ने गरेको खुल्न आएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आसमान राईले वडापालिकाको बजेटबाट आफ्नै छोरालाई वार्षिक तीन लाख रुपैयाँको छात्रवृत्ति उपलब्ध गराएको खुल्न आएको छ ।

वडाध्यक्ष आसमान राईले आफ्नो छोराको मात्र योग्यतासँग मिल्ने गरी मापदण्ड तयार गरेर इञ्जिनियरिङमा स्नातक अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको वडापालिकाका नाम नखुलाउने सर्तमा एक वडा सदस्यले बताए । महाकुलुङ–१, को बासिन्दा, सगरमाथा माविबाट एसएलसीमा सबैभन्दा बढी अंक ल्याएर उत्तिर्ण भएको, विज्ञान विषय लिएर उच्च माध्यमिक शिक्षा उत्तिर्ण गरेको र इञ्जिनियरिङ अध्ययनका लागि क्याम्पसको प्रवेश परीक्षा उत्तिर्ण गरेको व्यक्तिलाई वार्षिक तीन लाख रुपैयाँ छात्रवृत्ति दिने निर्णय वडापालिकामा गरिएको हो ।

बिरोधका बाबजुद पनि आफ्नो छोराको मात्र योग्यता मिल्ने गरी वडाध्यक्ष राईले निर्णय गराएको वडा सदस्यको दाबी छ । वडाको निर्णय अनुसार बिहीबार वडाध्यक्षका छोरा मनोज कुलुङले गाउँपालिकाबाट पहिलो वर्षको ३ लाख रुपैयाँ भुक्तानी लिएका छन् । वडाअध्यक्ष आशमान राईले भने वडापालिकाले तोकेको मापदण्डभित्र आफ्नो छोरामात्र भएकोले प्रतिस्पर्धा नभएको बताए । आफूले छोरालाई नै छात्रवृत्ति उपलब्ध गराउने मनसाय नभएको दाबी गर्दै उनले आगामी वर्ष तोकिएको मापदण्ड पुगेमा वडाका अरुले पनि छात्रवृत्ति पाउने दाबी गरेका छन ।

सम्बन्धित खबरहरु