एजेन्सी । कोलकाताको नेताजी सुभाष बन्दरगाहमा दोस्रो विश्वयुद्धमा विस्फोट नभएको ४५० किलोग्रामको बम फेला परेको छ । उक्त बम अमेरिकी सेनाले न् १९४५ मा चीन–बर्मा–भारत युद्धक्षेत्रमा प्रयोग गरेको भारतले जनाएको छ । शुक्रवार बन्दरगाह सरफाइ गर्दा उक्त बम फेला परेको थियो । बम विस्फोट भएको भए आधा किलोमिटर वरपरका व्यक्ति मानिस मर्ने त्रास व्यक्त गरिएको थियो । बन्दरगाहका कर्मचारीले तत्काल कोलकातास्थित भारतीय नौसेनाको कार्यालयमा खबर गरेका थिए । त्यसलगत्तै बन्दरगाह आइपुगेको नौसेनाले बम निष्क्रिय बनाएको थियो ।

पश्चिम बंगालका नौसेना अफिसर इन चार्ज कमान्डर सुप्रभो के। डेले भने, ‘अनुसन्धानका क्रममा उक्त बम अमेरिकी सेनाले बनाएको पुष्टि भयो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि यो बम यहीँ रहेछ । बम पानीमा खसेको रहेछ । यो अब पूरै सुरक्षित छ ।’ कोलकाता बन्दरगाहका सुरक्षा सल्लाहकार गौतम चक्रवर्तीले भने, ‘बन्दरगाह सफाइ गर्दा भेटाएको यो बम विश्वयुद्धको हुनसक्ने अनुमान गरेका थियौं । यो निष्क्रिय बनाइएपछि बन्दरगाहमा सुरक्षित राख्नेछौं ।’ नेताजी सुभाष बन्दरगाहलाई पहिले किङ जर्ज बन्दरगाह भनिन्थ्यो । सन् १९१८ मा यसको उद्घाटन गरिएको थियो । दोस्रो विश्‍वयुद्धका बेला अमेरिकी सेनाले यो बन्दरगाहको निकै प्रयोग गरेको थियो । जापान आक्रमण गर्न अमेरिकी सेनाका लागि यो सबैभन्दा भरपर्दो र विश्वसनीय थियो ।

सम्बन्धित खबरहरु