काठमाडौं । नेपाली जनताको बिचमा वैकल्पिक शक्तिको रुपमा उदयमान भएको पार्टीभित्रको विवाद उच्च विन्दुमा पुगेको छ । “अबको आशा, विवेकशील साझा” भन्दै चर्चा बटुलेको विवेकशील साझा पार्टीभित्र आन्तरिक किचलो बढ्दैं गएको देखिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको १६ महिना नबित्दै आन्तरिक किचलो सतहमा आएको हो । एकताका बेला दुवै दलका तत्कालीन अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्र नयाँ गठन भएको विवेकशील साझा पार्टीको संयोजक बनेका थिए ।

अहिले संयोजकमध्येका एक थापाले विवेकशील साझा पार्टीका सदस्यहरुका लागि भन्दै तयार पारेको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा पार्टी गलत बाटोमा हिँडिरहेको दावी गरेका छन । थापाले भनेका छन, “संघीय र प्रादेशिक निर्वाचनको सफलतापश्चातको एक वर्षको अवधिमा मैले विभिन्न घटनाक्रम, व्यक्तित्वहरु र सदस्यहरुको अनुभवहरुलाई समेट्ने र अनुशरण गर्ने मौका पाएँ । यसैका आधारमा म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटो तर्फ गइरहेको छ ।”

थापाले तयार पारेको प्रतिवेदनमा दलले होस र जोसलाई अँगाल्न नसकेको, शक्ति केन्द्रिकरणका कारण दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, नेतृत्वमा कमजोरी देखिएको जस्ता कुराहरु उल्लेख छन् । पार्टीले अत्याधिक चर्चाका वाबजुद पनि गएको संसदीय चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको पनि उनले उल्लेख गरेका छन । विवेकशील साझा पार्टीको अहिले प्रदेश ३ मा ३ सांसद छन् भने संघीय सांसदमा कुनै सिट हात पार्न सकेन । पछिल्लो समय नेता कार्यकर्तामा उत्साह कम भएको समेत्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैबीच पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टीको उच्च तहमा छलफल नै नगरी प्रतिवेदन बाहिर ल्याउनु संयोजक थापाको गैरजिम्मेवार प्रवृत्ति देखिएको बताए । थापाले सार्वजनिक गर्नुभएको प्रतिवेदन पार्टीको आधिकारिक धारणा नरहेको भन्दै उनले पार्टीको एकीकरणदेखि नै देखिएको संयोजक थापाको अकर्मण्यता र गैरजिम्मेवार कार्यशैलीप्रति केन्द्रीय समिति बैठकमा समीक्षा गरिने आचार्यले बताएका छन । अहिले पार्टी निर्माणकै चरणमा रहेको र पार्टीको गतिविधिलाई अझ विस्तारित गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन ।

संयोजककै जिम्मेवारीमा रहेका थापाले एकलौटी हिसाबले व्यक्तिगत समीक्षा गरी प्रतिवेदन सार्वजनिक गर्नु सुसंस्कृत राजनीति गर्ने विवेकशील साझाजस्तो पार्टीका लागि सुहाउने कुरो नरहेको प्रवक्ता आचार्यले बताए । “पार्टीमा केही कमजोरी छन्”, प्रवक्ता आचार्यले भने, “विधानको कुरामा, निर्देशिका बनाउने कुरामा ढिलाई भइरहेको छ, हामी स्वीकार्छौँ तर यो भन्दै गर्दा पार्टीको संयुक्त तहमा रहेका जिम्मेवार नेताले यस्ता मुद्धाहरु उपर पार्टी संयोजकद्वय, पार्टीको समन्वय समिति र पार्टीको केन्द्रीय समितिमा छलफल त गर्नु पर्ने थियो ।”

सम्बन्धित खबरहरु