नयाँ दिल्ली, रासस÷सिन्हवा । पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् ।

उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको छ । प्रान्तीय राजधानी उडिसाको भुवनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाकामा स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो ।

बुधबार बेलुका ५५ व्यक्ति सवार रहेका सो डुङ्गा हुकितोला द्वीपमा बनभोज खाएर फर्किरहेका अवस्थामा माहानदी नदीमा दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । डुङ्गामा सवार ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना अझै वेपत्ता रहेका थिए । गएराति रातभर गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र अर्का एक जना अझै वेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ ।

यस दुर्घटनापछि सो राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ उपलब्ध गराइने र घाइतेलाई निःशुल्क उपचार गरिने घोषणा गर्नु भएको छ ।

यसैगरी आजै गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए । सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।

दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् ।

सम्बन्धित खबरहरु