अमेरिका । बढ्दो प्रतिस्पर्धासँगैं विश्वकै सबैभन्दा ठूलो कम्पनीमा सामेल अमेरिकी कम्पनी “एप्पल”ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको जनाइएको छ । एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो । गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो । विश्वबजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो ।

त्यतिबेला एप्पलको शेयर उकालो लागेको थियो । हाल एप्पलको शेयरमा भारी गिरावट आएको छ । आइफोन बिक्रीमा आएको गिरावटका कारण यो अवस्था आएको एप्पलले जनाएको छ । पहिला नयाँ आइफोन बजारमा आउनासाथ उपभोक्ताको लाइन लाग्ने गर्दथ्यो तर, पछिल्ला दिनमा यो अवस्था अन्त्य हुँदै गएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण चीनमा आइफोनको व्यापार घटेको बताइन्छ ।

चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारण पनि एप्पलको कारोबार घटेको विश्लेषकहरु बताउँछन् । पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो आम्दानीको अनुमानमा कटौती गरेको हो । एप्पलले आफ्नो आम्दानी घट्न सक्ने बताउनुमा चीनमा आईफोनको बिक्री घट्नु पनि प्रमुख कारण हो । त्यसो त एप्पलले आफ्नो मोबाइल फोनको बिक्री घटेको हेक्का नराखेको भने होइन ।

त्यसैले उसले आजको दिनमा स्वास्थ्य तथा फिटनेसलगायतका क्षेत्रमा समेत ठूलो लगानी गरेको छ । फेसबुकले कमाउने जति पैसा त एप्पलले सेवा क्षेत्रबाटै कमाउने गरेको छ । अर्कोतर्फ चिनियाँ अर्थव्यवस्था कमजोर बन्दै गएको छ । त्यही कारण चिनियाँ बजारमा आईफोनको बिक्री घटेको छ ।

चीन र अमेरिकाबीचको व्यापारिक तनावका कारण पनि एप्पलको व्यापारमा कमी आएको छ । एप्पलका सीईओ टिम कुक यसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठान्छन् । कुकले शेयरधनीहरुसँग भनेका छन, “व्यापार युद्धको असर अब देखिन थालेको छ । त्यसैले ग्राहकहरुको भरोसा टुट्दै गएको छ ।” एजेन्सी

सम्बन्धित खबरहरु