काठमाडौं । नेपाली सामाजिक परिवेशमा आधारित ‘जय श्री दाम’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । विप्लव उप्रेती निर्देशित फिल्मको सुरुवाती १५ मिनेटको भिडियो यसअघि नै युट्युबमा रिलिज गरिएको थियो। त्यो युट्युबमा रुचाइएकोले फिल्मले दर्शक बटुल्ने अपेक्षा निर्माण पक्षको छ । रिलिजको पूर्वसन्ध्यामा उक्त फिल्मको प्रिमियर सोसमेत गरिएको छ । फिल्ममा जेबिका कार्की, अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, विष्णु सापकोटालगायतको मुख्य भूमिका छ ।

निर्देशक उप्रेतीले फिल्मले उठाएको विषयवस्तु दमदार रहेको दाबी गर्दै थपे, ‘चल्तीको कमेडीभन्दा केही पृथक शैली पस्कने कोसिस गरका छौं ।’ फिल्मको पटकथा उपे्रती र अमरदीप सापकोटाले लेखेका हुन् । आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र सो क्रममा एक ढोँगी बाबासँगको भेटपछि उत्पन्न हुने जटिल परिस्थितिको वरिपरि फिल्म घुमेको बताइएको छ । अमेरिकाबाट फिल्ममा स्नातक गरेका उप्रेतीले यसै फिल्मबाट निर्देशनमा आएका हुन् ।

सम्बन्धित खबरहरु