सुर्खेत कर्णाली प्रदेशका ख्यातिप्राप्त वाद्यवादक टेकबहादुर सुस्लिङको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ५० वर्षीय सुस्लिङको उपचारका क्रममा आज बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा निधन भएको हो । वीरेन्द्रनगरको खजुरामा जन्मनुभएका उहाँले २०४३ सालदेखि वाद्यवादनको यात्रा आरम्भ गर्नुभएको थियो । वरिष्ठ रङ्गकर्मी पे्रमदेव गिरीले प्रथम स्थान हासिल गर्न सफल राष्ट्रियस्तरका २४ नृत्य प्रतियोगितामा सुस्लिङले नै वाद्यवादनको नेतृत्व गर्नुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार २०५० सालमा बागिना समूह स्थापना भएपछि सुस्लिङले मादल, तबला, नाल, ढोलक, सारङ्गी, भ्वाइलिन, बेञ्जो, गितार, मेण्डोलिन, बाँसुरी, हार्मोनियमलगायत वाद्ययन्त्र उत्तिकै कुशलताका साथ बजाउने गर्नुहुन्थ्यो । बागिना समूहका अध्यक्ष गोविन्द कोइरालाले सुस्लिङको मादलको तालले मध्यपश्चिमको झ्याउरे नृत्यलाई मुलुकमै चिनाएको बताउनुभयो । “मोफसलमा उहाँजस्तो वाद्यवादनमा अद्भूत क्षमता राख्ने कमै छन्,” उहाँले भन्नुभयो । सुस्लिङको आजै भेरी नदीमा दाहसंस्कार गरिएको छ ।

सम्बन्धित खबरहरु