काठमाडौँ । धेरैं नेपालीहरुको चाहाना हुन्छ कर्म जुन देशमा गरेको भए पनि नेपाली भुमिमा नैं मर्न पाउँ । यस्तैं चाहाना बोकेर आएकी श्रेया शाह नेपाली बन्न गरेको अनेकौँ प्रयास सफल हुन नसकेपछि अमेरिका फर्किएकी छिन् ।

अमेरिकाको ग्रिनकार्ड भएर पनि नेपालकै नागरिक भएर बाँच्ने इच्छा भएकी श्रेया गत वर्ष नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नेपाल आएकी थिइन् । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र जया शाहकी छोरी श्रेया गत वर्ष नेपाल आएर एक वर्षदेखि नागरिकता प्राप्त गर्न निरन्तर लागेकी थिइन् ।

विगत लामो समयदेखि आमासँग अमेरिका बस्दै आएकी श्रेयाको ग्रिनकार्ड भए पनि उनी नेपाली नागरिक नै रहन चाहन्छिन् । वडा कार्यालयदेखि नगरपालिकासम्म र विभिन्न सङ्घसंस्था एवम् मिडियासम्म पुग्दा पनि उनले नागरिकता प्राप्त गर्न सकिनन् ।

आफ्ना बाबु धीरेन्द्र शाह भएको अस्पतालमा जन्मँदाको कागजपत्रदेखि स्कुलमा भर्ना गर्दासम्मका कागजपत्र साक्षी हुँदा पनि नागरिकताका लागि सम्बद्ध वडा कार्यालयले “बाबुलाई जीवित उभ्याउनुपर्ने” सर्त तेर्स्याएको थियो ।

एक वर्षसम्मको न्यायिक लडाइँ उनका लागि निकै कठिन रह्यो । अन्ततः ग्रिनकार्डवालाले एक वर्षका बीचमा फर्कनुपर्ने परिस्थितिमा अमेरिकन राजदूतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनी अमेरिका फर्कन बाध्य भएकी हुन् ।

नागरिकता र पासपोर्ट बनाएर एक साताजतिमा फर्किहाल्ने भनी आफू कार्यरत निकायबाट छोटो छुट्टी लिएर आएकी उनी नागरिकताबिना पासपोर्ट नबन्ने र पासपोर्टबिना यात्रा गर्न नमिल्ने भएर रोकिएकी थिइन् ।

आश्चर्य त के छ भने एउटा नेपालीलाई आफ्नै देशले नागरिकताबाट वञ्चित गरे पनि उनले केही समय बिताएको देश अमेरिकाले भने आफ्नो मुलुकको नागरिकता नलिई ग्रिनकार्ड मात्र लिएकी श्रेयालाई अमेरिका फर्काएको छ ।

ग्रिनकार्डवालाहरूले एक वर्षभित्र अमेरिका छिर्नुपर्ने नियम भए पनि उनले अमेरिकाको भूमि टेक्दा एक वर्ष एक दिन भएको थियो । आफू नेपाली नागरिक हुनुको अर्थमा नेपाली नागरिकता लिएरै छोड्ने अठोटमा रहेर सम्बन्धित विभिन्न निकायहरूमा पुग्दा निराशा मात्र भोगेकी श्रेयालाई अन्तिम अवस्थामा अमेरिकी दूतावासले सहयोग गरेको थियो ।

अमेरिकी अध्यागमनले उनको विशेष अवस्थालाई स्वीकार गरी अमेरिका प्रवेशको अनुमति दिएको थियो । श्रेयाले नेपाली नागरिक हुन खोज्दा आफू थकित भए पनि न्यायको लडाइँ निरन्तर लडिरहने र नेपाली भएरै बाँच्ने र मर्ने बताएकी छिन् । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विगतमा भारतीयहरुलाई सजिलैं नागरिकता दिएको तर शाहलाई नदिएको भन्दैं दुःख व्यक्त गरेका छन ।

सम्बन्धित खबरहरु