गान्तोक । भारतको सिक्किम राज्यको सरकारले सबै चकित हुने प्रगती गरिरहेका छ । उक्त राज्यका मुख्यमन्त्री पवनकुमार चाम्लिङले शनिबार ‘एक परिवार, एक रोजगार’ योजना सुरु गरेका छन्। उक्त योजनाअन्तर्गत सरकारी रोजगारी नभएका प्रत्येक परिवारका एक व्यक्तिलाई रोजगार दिइनेछ। उनीहरूको खेती र कृषि क्षेत्रमा लागेको सबै ऋण माफी गरिने घोषणा पनि गरिएको छ।

भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका चाम्लिङले सिक्किमको पलजोर रंगशालामा आयोजित रोजगार मेला २०१९ मा यो योजना शुभारम्भ गरेका हुन्। यसका साथै उनले राज्यका ३२ विधानसभा क्षेत्रका दुई दुईजनालाई अस्थायी नियुक्तिपत्र दिएका थिए।

चाम्लिङको सिक्किम डेमोक्र्याटिक फ्रन्ट सरकारले यसै योजनाअन्तर्गत केही दिनअघि २० हजार युवालाई तत्काल अस्थायी नोकरी दिने घोषणा गरेको थियो। कार्यक्रमको औपचारिक शुभारम्भपछि सरकारी अधिकारीले सबै नियुक्तिपत्र वितरण गरेका थिए। शनिवार ११ हजार ७७२ जनालाई नियुक्तिपत्र दिइएको थियो। मुख्यमन्त्री चाम्लिङले बाँकी सबैलाई छिटै नियुक्ति दिइने स्पष्ट पारे।

नियुक्तिपत्र वितरण भइरहँदा ‘पवन चाम्लिङ जिन्दाबाद’का नारा लगाइएका थिए। हाल दिइएका अस्थायी नियुक्ति पाएकालाई आगामी पाँच वर्षसम्म नियमित रोजगारी दिइने र सबैलाई स्थायी कर्मचारी बनाइने सिक्किम सरकारले जनाएको छ। हाल १२ वटा सरकारी विभागका समूह ‘ग’ र ‘घ’ मा नयाँ कर्मचारी भर्ना भइरहेको छ। चाम्लिङले भने, ‘हामी चौकिदार ९गार्ड०, माली, अस्पतालमा वार्ड सहायक, स्वास्थ्य सुविधा प्रदायक, ग्राम प्रहरी र सहायक ग्राम पुस्तकालयाध्यक्ष सहित २६ खालका विभिन्न पदमा नियुक्ति दिइरहेका छौं।’

उनले कैयौं नयाँ भर्ती गरिएका कर्मचारीको व्यवस्थापन गर्न चालू वर्षको ८९ दिनको बजेटबाट रकम छुट्याइएको र आगामी आर्थिक वर्षमा नयाँ बजेट छुट्याइने स्पष्ट पारे। ६९ वर्षीय नेता चाम्लिङले भने, ‘यो हाम्रा लागि निकै गौरवको विषय र सिक्किमे युवाका लागि खुशीको अवसर पनि हो।’

सम्बन्धित खबरहरु