काठमाडौं । माथिल्लो तामाकोशीको आइपिओ पर्नेलाई दुई गुना फाइदा भएको छ । १० कित्ता पर्नेले आइपिओमा १ हजार रुपैयाँ तिर्नु परेको थियो । अहिले त्यती नै कित्ता बेच्दा २ हजार रुपैयाँ भन्दा बढी लगानीकर्ताले पाएका छन् । लागानीकर्ता सेयर किन्दा राखेको रकम कटाएर चोख्खो १ हजार भन्दा बढी फाइदा भएको हो ।

अन्यत्र दुई गुना फाइदा गर्नलाई बर्षौ कुर्नु पर्ने हुन्छ । तर, तामाकोशीको सेयर भर्नेले साढे दुई महिना नहुँदै दोब्बर आम्दानी गरेका हुन् । उक्त कम्पनीको सेयर आइतबारबाट कारोबार भएको हो । आइपिओमा लगानी गर्नेले कर कटाएर ११० रुपैयाँ फाइदा गरेको ब्रोकरको भनाइ छ । हिजो तामाकोशीको सेयर प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार भएको थियो ।

माथिल्लो तामाकोशीको १० करोड ५९ लाख कित्ता सेयर आइतबा। नेप्सेमा सूचीकरण भएको हो । माथिल्लो तामाकोशीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । माथिल्लो तामाकोशीले गत कात्तिक १५ देखि १९ गतेसम्म १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये १ करोड ५० लाख ९० हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो ।

उक्त सेयरको बाँडफाँट मंसिर ११ गते भएको हो । सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री गर्न सक्नेछन् । तर स्थानीय बासिन्दाले किनेको सेयर भने ३ वर्षसम्म कारोबार भएको छैन । तामाकोशीको सेयर लगानीकर्ताको डिम्याट खातामा समेत आइसकेको छ । कुल ३ लाख ३४ हजार ७५ जना आवेदकमध्ये १ लाख ६१ हजार ३०० जनाले ४० कित्ताका दरले सेयर पाएका थिए ।

यस्तै, बाँकी १ लाख ७२ हजार ७७५ जना आवेदकलाई १० कित्ता थप गरी ५० कित्ता सेयर दिइएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

सम्बन्धित खबरहरु