काठमाडौं । संविधान संसोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) भित्र नयाँ खेल सुरु भएको छ । राजपा नेपालका शीर्ष नेताहरुको दिल्ली दौड बाक्लिदैं गएको छ । राजपाभित्र पार्टी संयोजक फेर्ने र सरकारलाई समर्थनको विषयमा बहस बाक्लिदै गएको अवस्थामा नेताहरुको दिल्ली आउजाउ बाक्लिएको हो । यद्यपी जो–जो नेताहरु दिल्ली गएका छन् ती सबै उपचारको नाममा गएका छन् ।

हाल राजपा नेपालको अध्यक्षमण्डलका संयोजक रहेका राजेन्द्र महतो माघ १ गते दिल्ली गएर २ गते नै फर्केका छन् । यस्तै महेन्द्र राय यादव पुस ३० गते दिल्ली गएका थिए । उनी आज फर्किने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।

नेता महेन्द्र राय यादव फर्केपछि राजपा नेपाल अध्यक्षमण्डलका अर्का सदस्य महन्थ ठाकुर माघ ६ गते दिल्ली जाने तयारीमा रहेका छन् । त्यस्तै, पार्टीका महासचिव केशव झा पनि हाल दिल्लीमै छन् । उनी माघ ८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

त्यस्तै, सो पार्टीका केन्द्रीय सदस्य डा।शरदसिंह यादव पनि दिल्ली गएर विभिन्न नेतासँग भेटघाट गरि हिजै फर्किसकेका छन् । नेताहरु उपचारका नाममा दिल्ली गएपनि केही डिप्लोम्याटसँग पनि भेटघाट गरेको बताइएको छ ।

त्यहाँका राजनीतिक दलका नेताहरुसँग भने उनीहरुको भेटघाट नसकेको पार्टी स्रोत बताउँछ । संयोजक महतो आफ्नो आँखा जँचाउनका लागि भिन्दै दल्ली गएको पार्टीका स्रोतले जनाएको छ । मधेश आन्दोलनको क्रममा विराटनगरमा प्रहरीको लाठीचार्जबाट उनको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेको कारण त्यसको असर आँखामा परेको बताइन्छ । उनले त्यतिबेला आफ्नो उपचार दिल्लीमै गराएका थिए । अहिले आएर आँखामा समस्या देखेपछि उनी उपचारका लागि दिल्ली गएको बताइएको छ । सो क्रममा उनले केही भेटघाट समेत गरेका थिए । महेन्द्रराय यादवको छातीमा मेसमेकर लागेको छ । उनी त्यसैको फ्लोअपका लागि दिल्ली गएका हुन् ।

त्यस्तै, महन्थ ठाकुरको पनि मुटुको समस्या भएको र भारतमा उपचार गराएको कारण नियमित चेकअपका लागि उनी दिल्ली जान लागेको पार्टी स्रोतले जनाएको छ । आज बस्ने बैठकको एजेण्डाको बारेमा छलफल गर्नका लागि हिजो राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवको बीच अनौपचारिक छलफल भएको बताइएको छ ।

सम्बन्धित खबरहरु