सरस्वती भट्ट । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा भित्रिएको चरम लापरवाही र माफियाको जालोमा जेलिएर चलिरहेका अव्यवस्थित मेडिकल कलेज स्थापनाका विरूद्ध संघर्षको विगुल फुक्दै आमरण अनसन र सत्याग्रहमा सरिक हुदै आएका डा. केसी सरकारको लागि आँखाको कसिङ्गर हुन् भन्दा अनुपयुक्त नहोला ।

विभिन्न समयमा नेपालको राजनैतीक परिवर्तनसँगै सरकार परिवर्तन भएपनि डा. केसीका माग भने परिवर्तन भएका छैनन् । केहि कुरा समय सापेक्ष परिमार्जित भएका होलान् । तर सरकार चाहे हिजोको प्रतिपक्षमा रहेका राजनीति पार्टीको होस् या आजका प्रतिपक्ष पार्टी हुन् उनको मागको सम्वोधनलाई सरकारले सरकार विरोधी अभियानको रूपमा हेर्दै आएको आम नागरिकले समेत प्रष्ट बुझिसकेका छन् ।

सरकार एकातिर विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पहल गरिरहेको छ भने खबर आँउछ । निजी विद्यालय भन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गरि विद्यार्थीको आकर्षण वढाउन शैक्षिक नीति नियम समेत परिवर्तनका लागि हालै केही निर्णयहरुसमेत भएका छन् । तर शिक्षा र स्वास्थ्य एक अर्काका परिपुरक हुदाँहुदै स्वास्थ्यमा भने सरकारको ध्यान सरकारी भन्दा निजी तिर केन्द्रीत हुदा हामी जस्ता जनताको सामान्य वुझाई पनि वाझिने गर्दछ ।

अर्कोतिर डा. केसीलाई जहिले पनि प्रतिपक्ष को ऐनाले हेरिनु आश्चर्य लाग्दो कुरा हो । फेरी पुरा गर्न नसक्ने नाजायज माग हुन् भने उनलाई घरिघरी किन अनसन तोड्न लगाइन्छ । नेपाली जनता महंगी भ्रष्टाचार, कालाबाजारी र विचौलियाको मारमा त फसेकै छन् फेरि किन सरकार र डा केसीको दोहोरिको विरोध र समर्थनको सधैंको नाटकमा रुमोलिन बाध्य छौ ?

के कति कारणले डा. केसीका माग गलत छन् यदि गलत छन् भने अर्को अनसनमा डा. केसी नजाउन् सहि छन् भने सरकार किन जुस खुवाएर वच्चा भुलाए झैं गर्छ ? नेपाली जनता भेडा हुन् जस्तो सुकै नाटक मञ्चन गरेपनि हेर्छन् भन्ने सरकारको नियत हो भने गम्भिर ध्यानाकर्षण होस्, हामी जनतासंग राज्य संयन्त्रका तिनै वटा निकायको पहुंच नहोला तर कुनैपनि शक्तिले छेक्न नसक्ने आवाजको बल मजवुत छ ।

फेरी राजनीतिक दललाई चेतना होस् । जनताले त्यसै कुनै फरक शक्ति (कम्युनिष्ट) लाई झण्डै दुई तिहाई मत दिएका हैनन् । जनता दुधको दुध पानीको पानी छुट्याउने बन्न थालि सकेका छन् । यस्ता साना गल्तीलाई सामान्य ठान्दै सरकारको नेतृत्व गरे त्यो पार्टीलाईपनि जनातले कुच्चोले कसिंगर बढारे जसरी नबढार्लान् भन्न सकिन्न ।

डा. केसीको माग समग्र स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्यमा सामान्य जनताको पहुँच, दुर दराजमा स्वास्थ्य सेवा सञ्चालन र दक्ष जनशक्तिसँग प्रत्यक्ष सरोकार राख्ने खालका माग सरकारको पनि राष्ट्रीय स्वास्थ्य नितीको लागी मेरुदण्ड नै हुनुपर्नेमा किन टाउको दुखाई ?

तसर्थ डा. केसीको खस्कदै गएको स्वास्थ्य अवस्था उनको राष्ट्र र जनताको हित हुने खालका मागलाई यथासिघ्र सम्वोधन गरि फेरि अर्को अनसनको मिति तय नहोस् भन्ने शुभकामना। यही कारणले जनमत पाएका शक्तिले आगामी जनमत संकलनमा धुलो चाट्नु नपरोस् ।

सम्बन्धित खबरहरु