काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्ड प्रस्थानपश्चात आज राष्ट्रियसभाको बैठक बोलाइएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोमबार राष्ट्रियसभाको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले समय दिएपछि कांग्रेस सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको भन्दै आपत्ति जनाइन् ।

उनले सरकारलाई सँधै सहयोग गरेको प्रतिपक्षी दललाई सरकारले नै चिढ्याउन खोजेको धारणा राखिन् । उनले प्रश्न गरिन्, ‘यो सरकाले गर्न खोजेको के हो ?’ प्रतिपक्ष सडकमा जाओस्, संसदलाई अवरुद्ध गरोस् भन्ने चाहेको हो भने त्यसका लागि प्रतिपक्ष तयार रहेको चेतावनी पनि उनले दिइन् ।

सम्बन्धित खबरहरु