काठमाडौ । अब केही समयपछि चन्द्रग्रहण लाग्दैछ । ग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेक अरुले भोजन गर्न नहुने शास्त्रमा उल्लेख छ । तर बालबालिका, रोगी तथा वृद्धावृद्धाले भने यो समयमा सकेसम्म त बार्नु नै राम्रो हुन्छ, सकिँदैन भने भोजन गर्न सकिन्छ ।

चन्द्रग्रहणको बेला सूर्यको किरण चन्द्रमामा नपुग्ने र प्रकाश परावर्तन हुन नपाउने हुन्छ । सूर्यको प्रकाश पनि नआउने र प्रकाश परावर्तन पनि हुन नपाउने भएकाले यो समयमा हानिकारक किटाणुहरुको संख्यामा वृद्धि हुने भएकाले यस समयमा खानपान गर्न नहुने ज्योतिषीय र वैज्ञानिक तथ्यहरु छन् । ग्रहण लागेको बेला चन्द्र र सूर्य कमजोर हुन्छन् ।

हरेक कार्य गर्नको लागि आत्मविश्वास बलियो हुनुपर्दछ । ज्योतिषशास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा वर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ ।

ज्योतिषशास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ , जस्तैः कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, ब्रश गर्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु , रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने शास्त्रमा उल्लेख छ ।

वैज्ञानिक अनुसन्धान अनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा किटाणुहरुको संख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ । ग्रहणको समय अगाडि नै पाकेका सामाग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।

सम्बन्धित खबरहरु