काठमाडौ । गोकर्णेश्वर नगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाँकाल मन्दिर जीर्णोद्धार एवं सामुदायिक कक्ष निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । वैदिक मन्त्रोच्चारणबीच संस्कृतिविद् डा चिन्तामणि योगीले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन गर्नुभयो । उहाँले पुरातन संस्कृति जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । पूर्वीय संस्कृति सर्वोत्कृष्ट रहेकाले योगीले यसको संरक्षण गर्नु सबैको कर्तव्य भएकामा जोड दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक परिपथको रुपमा विकास गरिने जानकारी दिनुभयो । “उत्तरगया–गोकर्णेश्वर मन्दिर–चामुण्डा भगवती–महाँकाल भैरव–अर्घौतेश्वर जस्ता प्राचीन मठ–मन्दिर रहेको नगरपालिकालाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

नगरपालिका मातहतको धार्मिक समितिका संयोजक समेत रहनुभएका भागवतवाचक पण्डित दिवाकरप्रसाद भण्डारीले श्रीमद्भागवतको महत्वमाथि चर्चा गर्नुभयो । उहाँले अर्थ सङ्कलनभन्दा पनि ज्ञान सङ्कलनका लागि ज्ञानमहायज्ञलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले महाँकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षको निर्माणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचन कक्ष, यज्ञमण्ड लगायतका लागि ज्ञानमहायज्ञ आयोजना गरिएको स्थानीय सामाजिक कार्यकर्ता राजेश दाहालले बताउनुभयो ।

सप्ताह ज्ञानमहायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न चन्द्र नगरकोटीको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्राचीनकालका राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वीक्षेत्रमा महाँकालसहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिनुभयो । रासस

सम्बन्धित खबरहरु