काठमाडौं । बढ्दो विदेशी आयातले नेपालको अर्थतन्त्रमा गम्भिर असर गरेको छ । नेपालबाट कच्चा पदार्थ बाहिर जाने र त्यो तयारी वस्तुको रुपमा नेपाल आएर महंगो हुने गरेको छ । पछिल्ला दिनहरुमा सर्वाधिक माग भइरहेको सिमेन्ट अब विदशबाट ल्याउनु नपर्ने भएको छ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।

निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे । उनले भने, “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”।

विश्वमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन सुरु भएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन गरिएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिए । थापाले भने,“उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशत मात्रै गत वर्ष आयात भएको थियो ।”अबदेखि त्यो पनि आयात नहुने बताइएको छ ।

आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको छ । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६र७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताउनुभएको छ ।

सम्बन्धित खबरहरु