काठमाडौ । २ नम्बर प्रदेशका विभिन्न जिल्लामा डा. सिके राउतले लडाकु दस्ता बनाएको खुल्न आएको छ । बाँकेमा प्रदर्शन गर्न आइपुगेका सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरु लडाकु दस्ता भएको खुल्न आएको हो ।

बाँके गनापुरका राममनोहर यादवको काठमाडौंबाट पाँच महिनापछि ल्याएको शवलाई अन्तिम श्रद्धाञ्जली दिन सिके राउतका ठूलो संख्याका कार्यकर्ताहरु यहाँ आएका थिए । दाहसंस्कार गर्दा प्रहरी आउनु नहुने शर्तमा शव बुझेका उनीहरुले राममनोहरको शवलाई राखेर अन्तिम श्रद्धाञ्जली दिनुको साथै सलामी दिएका थिए।

यी सबै गतिविधि निगरानी गरिरहेको ठूलो संख्याको प्रहरीले राती गन्तब्यतिर फर्किने क्रममा करिब दुई दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका पश्चिम तथा बाँके इन्चार्ज इरफान शेषले फेसबुकमा नामै राखेर १९ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरु सिराह, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट जिल्लाका छन् । उनीहरु राममनोहरको अन्तिम श्रद्धाञ्जली सभामा सम्मिलित हुन आएका थिए । शवलाई बोकेर गाउँ तथा आसपासमा परिक्रमा गर्ने उनीहरुको योजनालाई भने प्रहरीले रोकेको थियो । इलाका प्रहरी कार्यालय, कोहलपुरले नियन्त्रणमा लिएकामध्ये ९ जनालाई राज्यविरुद्ध कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । ‘पक्राउ गरिएकाहरु धेरैलाई छोडेका छौं । नौ जना प्रमुख नेताहरुलाई राज्यविरुद्ध कसुरमा मुद्दा चलाउने तयारी गरेका छौं, इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले भने ।

भदौ ७ गते बर्दियामा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आउदा सिकेका कार्यकर्ताहरुले कालो झण्डा देखाउने कार्यक्रम राखेका थिए । त्यही क्रममा बाँकेका राममनोहर यादव पक्राउ परेका थिए । प्रहरी हिरासतमै अर्धचेत भएका उनको उपचारको क्रममा १५ गते काठमाडौंमा मृत्यु भएको थियो ।

घरपरिवारले भने शव बुझ्न मानेका थिएनन् । पाँच महिनापछि आएर घरपरिवारले सोमबार शव बुझेका थिए । राममनोहरको शवलाई गाउँ घुमाउनका लागि २ नम्बर प्रदेशबाट ठूलो संख्यामा सिके राउतका कार्यकर्ताहरु बाँके आएका थिए । प्रहरीले केहीलाई आउँदा आउँदै बाटोमा नियन्त्रणमा लिएको थियो ।

तर, शव बुझ्ने क्रममा पक्राउ गरिएकालाई छोड्ने र दाहसंस्कार हुँदा प्रहरी आउन नपाइने शर्त राखेपछि प्रहरी पछाडि हटेको थियो । मुख्य मुख्य नेताहरुलाई ‘मार्क’ गरेर बसेको प्रहरीले राती आ–आफ्नो गन्तब्यतिर फर्किने क्रममा नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबरहरु