काठमाडौ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले भोली (माघ २४ गते) देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ ।

संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालद्वारा जारी विज्ञप्तीमा विराटनगरबाट प्रहरीले पक्राउ गरेका विश्वकर्मालाई बिना शर्त रिहा गर्न आग्रह गर्दा पनि सरकारले अटेर गरेका कारण शैक्षिक हड्ताल गर्नु परेको उल्लेख छ ।

माघ १७ गते कोषाध्यक्ष विश्वकर्मा पक्राउ परेपछि माघ १८ गते देखि नै रिहाको माग गर्दै संगठनले आन्दोलनको घोषणा जारी गरेको थियो । रिहा नगरेका कारण बाध्य भएर शैक्षिक हड्ताल गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।

संगठनका मकवानपुर अध्यक्ष मदन केसीले पनि शैक्षिक हड्ताल हुने जानकारी दिए । कोषाध्यक्ष विश्वकर्माको रिहाइका लागि सबै शैक्षिक हड्तालको घोषणा गरिएको उनले बताए । उनले सबै शैक्षिक संस्था बन्द गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु