जाजरकोट । नेपाल एक कृषिप्रधान मुलुक हो हामी कहाँ धेरैं कुराहरुको सम्भावना रहेको छ । हामीले हामीसँग भएको स्रोत साधनको उपयुक्त प्रयोग गर्ने हो नेपालको आर्थिक विकास छिट्टै परिवर्तन हुनसक्ने जानकारहरु बताउँछन । प्रचुर मात्रामा सम्भावना बोकेको जाजरको जिल्लाले मह विदेशमा निर्यात गर्न थालेको छ । जाजरकोटको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको हो ।

पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको छ । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्टे«लिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पठाउन सुपर वल्र्ड ट्रेडर्सले महको नाप तौल तथा गुणस्तर परीक्षण गरिसकेको बुढाले जानकारी दिएका छन् । बाहिर पठाउनलाई प्रालिले मह खरीद गर्नाका साथै प्याकिङ गरिसकिएको बताउँदै सञ्चालक बुढाले वन डिभिजन कार्यालयबाट चलानी पुर्जीका लागि आवश्यक कागजजात पूरा गर्न मात्र बाँकी रहेको बताए । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले बताए ।

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । गत वर्षसम्म प्रतिकिलो रु पाँच सय पर्ने मह अहिले रु सात सय पुगेको छ । माग धेरै भएका कारण महको मूल्यमा पनि वृद्धि भइरहेको छ । जैविक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो । मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ । महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या भएको व्यावसायिक मौरी किसान सेते बुढाले गुनासो पोखे ।

तीन दशकदेखि जाजरकोटका किसान व्यावसायिकरूपमा मौरीपालनमा आबद्ध छन् । उत्पादित मह किसानलाई बिक्री गर्न पनि बिस्तारै सहज हुँदै आएको छ । जैविक महको महत्व बुझाउँदै जाँदा अहिले जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा जान थालेको छ । प्रालिले महलाई विदेशमा निर्यात गर्न थालेपछि आगामी वर्षमा अन्तर्राष्ट्रिय बजार विस्तार हुनेमा किसान ढुक्क देखिन थालेका छन् । नगरपालिकामा चार हजार र जिल्लाभर छ हजार मौरीका घार रहेका छन् ।

सम्बन्धित खबरहरु