काठमाडौं । चर्चित अर्जेन्टिनी फुटबलर इमिलियानो साला दुई साताअघि विमानसँगै बेपत्ता भएका थिए । उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । उनको शव बिहिबार राति समुद्रबाट निकालिएको हो । दुर्घटनाग्रस्त विमानबाट सालासँगै उनका पाइलट डेभिड इबोस्टनको शव निकालिएको छ । २८ वर्षीय साला दुर्घटनामा पर्नुभन्दा दुई दिनअघि मात्र फ्रेन्च क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएको खबर सार्वजनिक रुपमा बाहिर आएका थिए ।

नान्टेसबाट वेल्सका लागि गत २१ जनवरीमा उडेको साला सवार विमान इङ्लिस च्यानल क्षेत्रबाट बेपत्ता रहेको थियो । त्यसपछि साला र विमानको खोजि सुरु गरिएको थियो । सुरुमा खोजी सम्भव नभएको भन्दै सरकारी अधिकारीले बीचमै खोजीकार्य छाडेको जनाइएको छ । केही दिअघि मात्र निजी क्षेत्रको प्रयासमा सालाको पुनः खोजी थालिएको थियो ।

खोजी टोलीले बेपत्ता विमान समुद्री पिँधमा डुबेको अवस्थामा फेला पारेको र विमानमा सालाको शवसमेत देखिएको बताइएको थियो । साला र उनका पाइलटको शव बिहिबार अबेर निकालेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ । यस विषयमा सालाको परिवारलाई पनि जानकारी दिईएको छ । यता, सालाको पूर्व क्लब नान्टेसले कार्डिफसिटीसँग १५ मिलियन रकम भुक्तान गर्न माग गरिरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु