काठमाडौँ । राष्ट्रिय महत्वको रुपमा रहेको निजगढ विमानस्थल निर्माण सरकार आफैंले गर्ने भएको छ । लामोसमय देखि मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको हो ।

नेपाल इञ्जिनीयर्स एशोसिएशनले आयोजना गरेको ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल निर्माण गर्ने बताएका छन ।

उनले विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय दाताको विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने उल्लेख गरेका हुन । उनले निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने जानकारी पनि गराए ।

मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखे । पर्यटनमन्त्री अधिकारीले भने, “निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा हुँदैन । ”

उनले निजगढ विमानस्थल सबैभन्दा बढी प्राथमिकताको आयोजना भएको भन्दै आजसम्म गति नलिनु दुःखद भएको जनाए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, पूर्वाधारविद् डा.सूर्यराज आचार्य,पूर्वसचिव वीरेन्द्रबहादुर देउजा,नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदीप अधिकारी,एशोसिएशनका महासचिव छविराज पोखरेलले विकास निर्माण र यसमा भएका समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबरहरु