यूएई । सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन दुबई पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमाथि प्रश्नहरुको ओइरो लागेको छ । शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको स्पष्ट पारेका छन् ।

मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने बताए । पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने बताए । आफूविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितले जिकिर गरे । मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न उनले विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् ।

दूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल, श्रम सहचारी मोतिराम भुसाललगायत कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता थियो । मन्त्री पण्डित दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई आउनुभएको हो ।

सम्बन्धित खबरहरु