काठमाडौ । पहिलो महिला आरोही पासाङ ल्हामु शेर्पासँगै आरोहण दलकी सदस्य बनेर सगरमाथाको आरोहण गरेकी बहुचर्चित लेखिका, समाजसेवी, राष्ट्रसेवक/प्रशासक लाक्पाफुटी शेर्पा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्ष पदमा नियुक्त भएकी छिन् । सक्षम, निडर, अनुभवि आरोही, लेखिका एवं सफल पर्यटन ब्यवसायीको परिचय बनाएकी लाक्पाफुटीलाई सरकारले प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिएको छ । उनले आजै पदभार समेत ग्रहण गरेकी छिन् ।

लाक्पाफुटी यसअघि सोही प्रतिष्ठानको कार्यकारी निर्देशक भएर काम गरिसकेकी महिला हुन् । उनी प्रतिष्ठानमा नेतृत्व गर्ने पहिलो महिला समेत बन्न सफल भएकी छिन् । उनी हिमालमा चालिस बर्ष (नेपाली, अंग्रेजी, हिमालकी छोरी लगायतका चर्चित पुस्तककी लेखिका समेत हुन् । पर्यटन व्यवसायी लाक्पाफुटीले लेखेका दुई कृति हिमाली जनजीवनलाई केन्द्रविन्दु बनाई लेखिएका छन् ।

पहिलो कृति हिमाली क्षेत्रमा खास गरी महिलाले भोग्नुुपरेको दुःख, पीडा र संघर्षको कथा छ । दोस्रो भने लेखिकाको यसअघि नै सार्वजनिक ‘हिमालमा चालीस वर्ष’को अनुवाद कृति हो । तेस्रो हिमालकी छोरी झनै हिमालको सबै यथार्थ बोकेको पुस्तक हो । हिमाली समुदायमा हुर्किने एक नारी पात्रको भोगाईलाई कलात्मक रुपमा उतारिएको विषयबस्तु नै हिमालकी छोरी उपन्यासको मुख्य विषयबस्तु हो ।

उपन्यासकी पात्र “छेची”को कथा नै हिमालका छोरीहरुको वास्तविक कथा हो भन्ने बलियो आधार सहित लेखिकाले आफ्ने लेखन सिपमा उतारेकी छन् । यो उपन्यास नेपालका महिला एवं पश्चिममा महिलाबीचको फरक तथा समानताको तुलनात्मक अध्ययन हो । उपन्यासकी पात्र छची हिमालको काखमा गरिबीको खाल्डोमा डुबेर हज्जारौ पटक उत्रिन खोज्छे ।

सोलुखुम्बु जिल्ला पर्यटकको हवमा जन्मिएकी छेची पर्यटकको पथप्रर्दशको रुपमा आफ्ना गन्तव्य अघि बढाउछे । त्यही क्रममा विदेशी पर्यटकसँग “छेची”को हिमचिम बढ्छ । “छेची”को रुप र वैशमा मोहित भएको विदेशीले प्रेमभाव दर्शाएर विबाह बन्धनको बाचा गर्छ । नभन्दै गरिबीको बादल फाट्ने आशमा छेचीले स्वीस नागरिकसँग लगनगाँठो कसेर उतै लाग्छे । यीनै सेरोफेरोमा संघर्ष, सुख, रोमान्सको समिश्रण सहित उपन्यासको रुपमा हिमालकी छोरी प्रस्तुत गरिएको छ । वास्तबमै यो शेर्पा समुदायको पहिलो उत्कृष्ट साहित्य हो ।

यो उपन्यास एउटी महिलाले आमा तथा छोरी भएर जीवन बिताउन कति कठिन छ भन्ने कुरामा केन्द्रित छ । फरक धर्म, भाषा, संस्कृति, परम्परा एवं रहनसहन भएको ठाउँमा जिउन कति गार्‍हो हुन्छ त्यसको स्पष्ट चित्र पनि यसमा छ । यो उपन्यासकी पात्र छेची स्वयं लेखिका भएको लाक्पाफुटीको स्वीकारोक्ति छ । उनलाई बहुचर्चित लेखिका, समाजसेवी, राष्ट्रसेवक प्रशासकको रुपमा चिन्न सकिन्छ ।

यसअघि नै लाक्पाफुटीले भनेकी छिन् शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव थियो, त्यसैमा हात हालेँ । आज फर्केर हेर्दा केही सफल भएको जस्तो लाग्छ ।

यो भनाइ हो उनै सफल पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पाको । पर्वतारोहणका लागि नेपाल संसारभर नै प्रसिद्ध छ । पर्वतारोहणमा इच्छा राख्नेहरु नेपालको हिमाललाई नजिकबाट नियाल्न चाहन्छन् । मान्छेका सोच फरक हुन्छन्, चाहना पनि फरक नै रहन्छन् । त्यस्तै फरक चाहना लाक्पाफुटीले राखिन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले धेरैलाई हिमालको शिखरमा पु¥याए । धेरैका नाम संसारभर चिनाए । तिनले हिउँसँग मितेरी गाँसे । सफल पनि भए । संसारभर नै शेर्पा समुदायको बहादुरी र साहसको प्रशंसा सामान्यरुपमा मात्रै हुने गरेको छ । तर शेर्पाको नाम सधैँ ओझेलमा परेको, दुःख गर्नेहरु कहिल्यै अग्रपंक्तिमा नदेखिने दुःखद अवस्थाले लाक्पाफुटीलाई नराम्ररी झस्कायो ।

सयौँको नाम राखिदिने, सयौँलाई शिखरमा पु¥याउने शेर्पा समुदायको साहसलाई शैक्षिकरुपमा पनि सबल बनाउने लाक्पाको चाहना थियो । मनको कुनामा रहेको चाहना पूरा गराउन शुरुमा आफ्नै भन्नेले पनि सहयोग गरेनन् । आफन्त नै पाराया भएपछि कसको के लाग्दो रहेछ र ।

सरकारी निकायको ढोका ढक्ढक्याउँदा दर्जनभन्दा बढी जोर चप्पल पुराना भए । कैयौँदिन चर्को घामले पिरोल्यो भने कैयौँ दिन मुसलधारे पानीले चुट्यो । तर सम्पन्न गर्छु भनेर शुरु गरेको काम पूरा नगरीकन थाक्ने भन्ने नै थिएन । लाक्पाले आफ्नो विगत सम्झिदै सुस्केहार हाल्थिन् । तर उनी प्रमुख कार्यकारी पदमा रहँदा विश्वका मानिस चकित हुनेगरी नेपालमा माउण्टेन विषयमा पढाई हुनेगरी प्रतिष्ठानकै मातहतमा रहनेगरी क्याम्पसको स्थापना गरेरै छोडिन् ।

“नेपालका शेर्पा र पर्वरोहणमा काम गर्न चाहनेलाई शैक्षिक ज्ञान दिनु आवश्यक छ भन्ने चाहना पूरा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको ढोका चाहर्दाचाहर्दै छ वर्ष बित्यो । करीब करीब हार खाने अवस्थामा पुगेको थिएँ । तर पछि सबैको सहयोग र प्रयासले सफल भएँ” लाक्पाले चलचित्रको दृश्यजस्तै विगत सुनाउँदै उक्त क्याम्पस स्थापनाको संघर्ष सुनाउँथिन् । आज उनै संघर्षशील महिला फेरी प्रतिष्ठानको नेतृत्वमा पुगेकी छिन् ।

“मन्त्रालयका कतिपय अधिकारीले शुरुमा असम्भव विषयमा किन लागेको भन्दै सहयोग गरेनन् । जुन विषयलाई असम्भव भनिएको थियो, तर आज आएर सम्भव भएको छ” । लामो मेहनत र प्रयासपछि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानपनि स्थापना भयो । सो प्रतिष्ठानले गत वर्षदेखि शैक्षिक कार्यक्रम शुरु गरेको छ । पर्वतारोहणका लागि दक्ष जनशक्ति स्थापना गर्ने आफ्नो लक्ष्य पूरा भएकामा सबैभन्दा बढी लाक्पाफुटी नै खुशी छिन् ।

पहिलो सेमेष्टर सञ्चालनमा आइसकेको छ । दोस्रोको तयारी भइरहेको छ । हाल प्रतिष्ठानले स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । छिट्टै स्तातकोत्तर तहको अध्ययन अध्यापनको काम पनि शुरु हुनेछ । नेपालमा विदेशी विद्यार्थीका लागि आकर्षण गर्ने कुनै शैक्षिक कार्यक्रम हो भने पर्वतारोहणसम्बन्धी अध्ययन नै हो । धेरै लामो मेहनत र प्रयासले सार्थकता पाउँदा लाक्पालाई संसार जितेभन्दा बढ्ता खुशी मिलेको छ ।

“हामीले नजानेरै धेरैका भारी बोक्यौँ । अनपढ शेर्पा भन्नेहरु पनि भेटिए । अब भने त्यस्तो हुन्न, हिमाल चढ्नेहरु पनि पढेका, जानेका र बुझेका हुन्छन् भन्ने सत्य स्थापना गर्न सकिएको छ”, लाक्पाका आँखामा उत्साह देखिन्छ । सायद अध्यक्ष पदमा पदभार ग्रहण गर्दा त्यति खुशी छैन । क्याम्पस स्थापना हुँदा लाक्पामा त्यती खुशी थियो ।

शिक्षा मन्त्रालयमा धाउँदा १०३ डिग्रीको ज्वरो आएको थियो । पटकपटक नेपाल बन्द हुन्थ्यो, हिँड्दै त्रिभुवन विश्वविद्यालय पुगेको पनि आजैजस्तो लाग्छ उनले सम्झिने गर्थिन ।

“कति दिन भोकै कुदेँ, कति दिन आधा पेट खाएर कुदेँ । किनकी नपढेका शेर्पाले हिमाल चढ्छन्, छोरी चेरीले हिमाल चढ्नु हुन्न, देवता रिसाउँछन् भन्ने आरोप पनि लाग्थ्यो । तर अब नेपालका छोरी चेलीले हिमाल चढ्ने ज्ञान सिक्छन् र जान्छन्”, लाक्पा विगतको पीडा आज खुशीमा परिणत भएकोमा निक्कै दंग छिन् ।

ज्वरो आएका बेला पनि फाइल बोकेर धाएको क्षण मानसपटलमा स्मरणीय रहिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा बन्दको बेला भोकै बस्नुपरेको तीतो अनुभव छ । लाक्पाफुटी हिमाली क्षेत्रका बारेमा राम्रै जानकार हुन् । विदेशीले तिमीहरुकामा हिमाली क्षेत्रको ज्ञान दिने कुनै शैक्षिक संस्था छैन कि के हो ? भनेर गर्ने प्रश्नले हृदयमा घोचेकाले आफू प्रतिष्ठान स्थापनामा लागेको स्मरण लाक्पाको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संस्थापक कार्यकारी निर्देशकसमेत रहेकी लाक्पाफुटी विदेशका विद्यार्थीलाई नेपाल भित्र्याउने पहिलो शैक्षिक कार्यक्रम आफूहरुकै भएकामा गर्र्व गर्छिन् । “नेपालमा अहिलेसम्म हामी हिमाल हिमाल मात्रै भन्छौँ, तर हिमालमैत्री र पर्वतारोहणमैत्री पनि छैनौँ । हिमालसँग जोडिएका धेरै विषयमा अध्ययन गर्न सकिन्छ । हिमाली क्षेत्रको रहनसहन, रीतिरिवाज, हिमनदी, हिमाली वनस्पति, शेर्पा समुदायको कला र सांस्कृतिक पाटो पनि बुझ्नुपर्छ । शेर्पा र हिमालमात्रै भनेर पनि भएन नि ? उनले आफ्नै जन्मथलो सम्झिने र हिमालका लागि मरिमेट्ने गर्दछिन् ।

सोखुखुम्बुको चौँरीखर्कबाट काठमाडौँ छिर्दा उनीसँग बाबाआमाले दिएको नाममात्रै थियो । तर आज उनसँग के छैन । नाम, दाम दुवै छ । समाजले चिनेको छ, देश विदेशमा उनको नाम छ । उनको बाल्यकाल हिमालसँगै बित्यो । विगत ४० वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा नै क्रियाशील लाक्पाफुटी नेपालले गर्व गर्ने सन्तान हुन् ।

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्दा उनको आरोहण दलको सहायकका रुपमा लाक्पाफुटी थिइन् । “करीब आठ हजार मिटरसम्म पुगेको थिएँ । तर पासाङको निधनपछि मैले आरोहण स्थगित गरिदिएँ”, ती दिन सम्झदाँ लाक्पाफुटीका आँखा रसाईहाल्छन् । पासाङ ल्हामु शेर्पाको सगरमाथाको चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७०० मिटरमा रहेको साउथ समिटमा निधन भएको थियो । हिमाली प्रकृति शोधार्थी तथा विद्यार्थीका लागि विश्वविद्यालय जत्तिकै छ ।

त्यसलाई व्यवस्थित गरेर सञ्चालन गर्ने लक्ष्यका साथ शुरु गरिएको काम सफल भएको छ । निकै कष्टका साथ पाठ्यक्रम बनाएर अहिले कलेज शुरु भएको छ । विश्वमै नभएको चिज पहिलोपटक शुरु भएको हो चुनौती त धेरै छन् । तर पनि स्थिर सरकार बनेकाले सकारात्मक आशा जागेको छ । अब अध्यक्ष नै बनेपछि आफुले रोपेको बिरुवालाई संसारको अमुल्य फल दिने बृक्षको रुपमा माउण्टेन कलेजलाई बढाउने । हिमाल बेचेर विश्वको धनी देशको रुपमा नेपाललाई चिनाउँने लाक्पाफुटीको लक्ष्य छ ।

‘ब्याचलर इन माउण्टेनरिङ’ मा अहिले २३ जना विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीले राम्रो नतिजा ल्याएका छन् । विदेशी विद्यार्थीले समेत एकदमै चासो देखाएका छन् । ललितपुरको सातदोबाटोमा कक्षा सञ्चालन भइरहेको छ । एड्भेन्चर एण्ड माउण्टेन टुरिजम’ नामक शैक्षिक कार्यक्रमको अनुमतिका लागि त्रिविविलाई अनुरोध गरिसकिएको छ । त्यस्तै, दश जोड दुईका लागि पनि पाठ्यक्रम बनाएर उच्च माध्यमिक शिक्षा परिषद्मा पठाइसकेको छ । अब एकै साथ विश्वका मानिसको ध्यान तान्नेछु लाक्पाफुटीले भनिन् । अहिले नेपाली पढ्दैछन् धेरै विदेशीले चासो देखाएका छन् । आशा छ, एकदिन संसारकै उत्कृष्ट विश्वविद्यालयका रुपमा हिमाली क्षेत्रको अध्ययन अगाडि बढ्नेछ ।

चारवर्षे शैक्षिक कार्यक्रमका लागि हाल रु छ लाख खर्च लाग्छ । सात हजार मिटरको उचाइमा लगेर विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराइन्छ । शैक्षिक कार्यक्रमका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका विद्यार्थीका लागि रु सात लाख र अन्य देशका विद्यार्थीका लागि रु १२ लाखबराबरको शुल्क लाग्छ । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा हिमाली क्षेत्रको अध्ययन गराउने संस्था चीन, दक्षिण कोरिया र जापानलगायतका मुलुकमा रहेका छन् । प्रकृतिले साथ दिएको आधारमा नेपालको शैक्षिक कार्यक्रम नै उल्लेख्य रहेको उनको भनाइ छ ।

सम्बन्धित खबरहरु