काठमाडौ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णमा जुटेका हास्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहिलो प्रयास नै सफल भएको छ । सहयोगार्थ रकम संकलन गर्न मलेसियामा गरिएको कार्यक्रमबाटै ३५ लाख ७१ हजार रुपैयाँ जुटेको बताइएको छ ।

यसले धुर्मुस सुन्तलीमा ठूलो हौसला मिलेको छ । उनीहरुले आँसु बगाउँदै भने देश निर्माणका लागि यति धेरै माया जुट्ला भन्ने सोचेकापनि थिएनौँ । मलेसियामा रहेका नेपालीको अत्यन्तै ठूलो माया पाएका छौ धुर्मुसले भने । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त रकम जुटेपछि उनीहरु हौसिएका छन् । अब अरु देशमा कार्यक्रम राख्ने भएका छन् ।

मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’

कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जनाएका छन् । साथै यो अभियानलाई सहयोग गर्न फेरि मलेसिया भ्रमणका लागि नेपाली दाजुभाई दिदीबहिनीले निम्तो गरेको उनले जनाएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्ब लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । यो रकम जनसहयोगबाट संकलन गर्ने फाउन्डेसनको लक्ष्य छ ।

सम्बन्धित खबरहरु