काठमाडौं । केही दिन पहिले केन्द्र सरकारका केही मन्त्रीहरुले इन्धनका लागी दोहोरो सुविधा लिएको खुल्न आएको थियो । यस्तै, गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो ।

मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । लेखाको निर्देशनअनुसार मन्त्रालयहरूले चालू आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान रहका छन् ।

त्यस्तैं, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले नयाँ पत्रिकालाई बताए । सातसदस्यीय मन्त्रिपरिषद्का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयबाट इन्धन सुविधा लिएका छैनन् । सामाजिक विकासमन्त्री नरदेवी पुनले भने तेल हाले–नहालेको जवाफ मन्त्रालयले लेखा समितिलाई अहिलेसम्म बुझाएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु