काठमाडौं । अहिले सामाजिक सञ्जालमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको दौरा सुरुवालको खुबैं चर्चा भइरहेको छ । नेपाली संस्कृति तथा रितिरिवाज विरोधीको आरोप झेल्दै आउँनुभएका पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका नेता डा.भट्टराईले आज अचानक केही फोटोहरु राख्नुभयो जुन अहिले चर्चामा रहेका छन् । उहाँले तस्वीर राखेपछि गाली र ताली दिनेहरुको ठुलो जमात भएको छ ।

लामो समय देखि सामाजिक संजालमा सक्रिय डा। भट्टराईले जनताको प्रतिक्रिया बुझ्न भन्दा पनि खस आर्य समुदायप्रति सद्भाव देखाउन आफुले यस्तो गरेको आफ्नो स्टाटसमै खुलाउनु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘देश अनुसारको भेष १ जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ’ रोचक पक्ष त के हो भने, डा. भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाउँनु भएको हो ।

विवश घिमिरे नाम गरेका एकजना फेसबुक प्रयोगकर्ताले भट्टराईको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘हामीले डा. बाबुराम भट्टराईलाई औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै ज्ञापनपत्र बुझाउदा उहाँले हास्दै भन्नू भाको थियो मलाई यो अभियान बिरोधि हो भनेर बजारमा प्रचारप्रसार गरिएको छ तर म यो अभियान बिरोधि हैन ।

हिजो मेरो बुबाले पनि दौरासुरुवाल लगाउनु भएको थियो मलाई लगाउन केही समस्या छैन र छिट्टै लगाउछु भन्नू भाको थियो र आज पहिलोपटक उहाँलाई दौरासुरुवालमा देख्न पाइयो । धन्यवाद पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ।’ के दौरा सुरुवाल र गुन्युचोलीलाई राष्ट्रिय पोशाक बनाउने अभियानमा लागेको भनेका ती व्यक्तिकै आग्रहमा भट्टराईले दौरा सुरुवाल लगाउनु भएको हो त ?

डा. भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार डा. भट्टराईको साथमा यस्ता थुप्रै पहिरन घरमै छन् । हरेक जातजाति र भाषाभाषीका पहिरन र संस्कृति झल्कने चिज डा. भट्टराईले घरमै राखेका छन् । जुन आवस्यकता अनुसार लगाउने गर्नुहुन्छ । पोखरेलका अनुसार भट्टराईले खस वाहुल्य समाजमा पुगेर दौरा सुरुवाल नै लगाउने भनी काठमाडौं मै तय गरिसक्नु भएको थियो । सोही अनुसार उहाँले यो पहिरन साथमै लिएर गएको उहाँले बताउँनुभयो ।

नयाँ शक्तिको पार्टी अभियानको क्रममा यतिबेला डा. भट्टराई आफ्ना कार्यकर्ताको साथ जाजरकोट पुग्नु भएको छ । जाजरकोटबाट उहाँले फेसबुकमा दौरा सुरुवालको फोटो पोस्ट गर्नुभएको हो । रुकुमबाट आज बिहान मात्रै उहाँ सतिको टोली जाजरकोट पुगेको हो । नयाँ शक्तिको जनसंवाद कार्यक्रम कार्यक्रम यही फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर समापन हुने पार्टीले जनाएको छ । डा. भट्टराईका तस्विरमा उहाँकी श्रीमती एवं नेतृ हिसिला यामीले लेख्नुभएको छ मेरा खस श्रीमानको खस पोसाक । पहिलोपटक दौरा सुरुवालमा भन्दै तस्विर पोष्ट गर्नुभएको छ ।

सम्बन्धित खबरहरु