नयाँदिल्ली । पछिल्ला दिनहरुमा भारत र पाकिस्तान बिचको समस्या उग्र बन्दैं गएको छ । भारतले पाकिस्तानमा नाकाबन्दी गर्ने देखि लिएर नदीनाला रोक्नेसम्मको धम्की दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमारन खानले पाकिस्तानमा जुनसुकैं समयमा पनि पानीको संकट आइपर्ने भन्दैं जनताको लगानीमा ठुला पानी परियोजनाहरु सम्पन्न गर्ने जनाउँदैं आएका छन् ।

यो बिचमा पुलवामा आतंकवादी आक्रमणपछि भारतमा पाकिस्तान विरोधी स्वर निकैं सुन्नमा आएको छ । यो बिचमा नरेन्द्र मोदी नेतृत्वको सरकारले पाकिस्तान भएर बग्ने तीनवटा नदीको पानी बन्द गर्ने घोषणा गरेको छ । भारतका केन्द्रीय मन्त्री नीतीन गडकरीले यस्तो चेतावनी दिएका हुन् ।

सिन्धु जल सम्झौताअन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी पाकिस्तानलाई उपलब्ध गराउँदै आएको छ । उक्त पानी अब भारतका पञ्जाब र जम्मु कश्मीरका नदीमा प्रवाह गराइने उनले स्पष्ट पारेका छन् । गडकरीले यसका लागि जम्मु कश्मीरको शाहपुर–काँडीमा रावी नदीमा परियोजना काम शुरु भइसकेको जानकारी समेत्त गराएका छन् । यसैगरी उक्त परियोजनाको मद्दतमा जम्मु कश्मीरमा रावी नदीको पानी संग्रह गर्ने र अन्य राज्यमा प्रवाहित गरिने गडकरीले जनाएका छन् ।

यसअघि मंगलबार बागपतको एक कार्यक्रममा मन्त्री गडकरीले भनेका थिए, ‘देश विभाजनपछि भारत र पाकिस्तानले तीन तीनवटा नदीको पानी प्रयोग गर्ने सहमति भएको थियो ।’ यो सम्झौताअन्तर्गत भारतको भागमा आएका तीनवटा नदीको पानी पाकिस्तानतर्फ गइरहेको थियो । अब तीनवटै नदीमा परियोजना चालू गरेको र त्यहाँ जम्मा भएको पानी पञ्जाब र जम्मु कश्मीरका बासिन्दालाई उपलब्ध गराइने उनले जानकारी दिए ।

पुलवामा आक्रमणपछि भारतीय नागरिकले पाकिस्तानलाई सबक सिकाउनुपर्ने माग गर्दै आएका छन् । यस्तो बेला गडकरीले पाकिस्तान जाने नदी बन्द गर्ने घोषणा गरेका छन् । भारत र पाकिस्तानबीच सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो। सम्झौतामा पूर्वतर्फ बग्ने नदी व्यास, रावी र सतलजका लागि भएको थियो । उक्त सम्झौताअन्तर्गत भारतले ३.३ करोड एकड फिट पानी पाउँछ भने पाकिस्तानले ८० करोड एकड फिट पानी पाउँछ । एजेन्सी

सम्बन्धित खबरहरु