डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि अत्याधिक भ्रष्ट भएको आरोप लगाउनुभएको छ । जनसंवाद यात्राका क्रममा डडेल्धुरा सदरमुकाम आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले क्रान्तिकारी नेताहरुले सत्तामा पुगेपछि आफ्नो निष्ठा, आर्दश भुलेर भ्रष्टाचार गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौं, सबै साथी जेल बस्नु भएको हो’ उनले भने ‘तर, सत्तामा पुगेपछि रेकर्ड राम्रो छैन । जानेर होस् वा नजानेर भ्रष्टाचार भयो ।’ २०४६/ ४७ मा कांग्रेस, ०५४ /५५ मा तत्कालीन एमाले र २०६३/ ६४ पछि तत्कालीन माओवादी सत्तामा गएको स्मरण गदै उहाँले भन्नुभयो, ‘सत्तामा पुगेपछि सबैले आफ्नो आदर्शलाई बिर्सिएका छन्, जसरी गुलियोमा डुबेको झिँगा उड्न सक्दैन, त्यसरी नै क्रान्तिकारी साथीहरु सत्ताको चास्नीमा डुबेर ठुला–ठुला भ्रष्टाचार प्रकरण भएको हामीले देखेका छौं ।’

‘हिजोका क्रान्तिकारी भनिने कम्युनिष्ट र लोकतन्त्रवादी भनिने कांग्रेसका साथीहरुले समेत पञ्चायत र राणाकालको जस्तै भ्रष्टाचारका काण्ड गरे । त्यतिबेला लुुकाएर हुन्थ्यो आजभोलि हाक्काहाक्की भ्रष्टाचार गरे, चाहे वाइडबडी काण्ड भन्नुस्, चाहे बुढीगण्डकी प्रकरण भन्नुस् ।’ राजश्वको रक्षा गर्ने जिम्मेवारी पाएका व्यक्तिहरुले नै आफ्ना आसेपासेलाई मिलाएर खाएको उहाँको आरोप छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले दलीय भागवण्डाका कारण अख्तियार काम नलाग्ने भइसकेको धारणा राख्नुभयो । ‘हाम्रा अनुसन्धान गर्ने संस्थाहरु कमजोर भए, पार्टीका मान्छेहरुले भागबन्डा गरेर आयुक्तहरु नियुक्त गर्छन्, अनि तिनले कसरी भ्रष्टाचार नियन्त्रण गर्लान् ? उहाँले प्रश्न गर्नुभएको छ । भ्रष्ट्राचार रोक्न सशक्त जनलोकपाल आवश्यकता भएको भट्टराईको तर्क छ ।

सम्बन्धित खबरहरु