काठमाडौ । स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनलाई पानीको फोहोरा हानेर प्रहरीले तितरवितर पारेको छ । माईतिघर मण्डलाबाट शुरु भएको शिक्षकको प्रदर्शन संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले विजुलीबजारमा नैं रोकेको थियो । धकेला धकेल गर्दै शिक्षकको प्रदर्शन अघि बढेपछि बानेश्वर चोक नपुग्दै प्रहरीले हस्तक्षेप गर्न बाध्य भएको हो ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको हो । आन्दोलन उग्र बन्दैं गएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो । प्रहरीको हस्तक्षेपमा परी आफ्ना २ दर्जन साथी घाईते भएको नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेम अधिकारीले जानकारी गराउँनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नु खेदजनक कार्य हो, बर्षौ देखि पढाएका हामी शिक्षकको योगदानको कदर गर्नु त कता हो कता प्रहरी लगाएर हामीलाई दमन गर्नु सरकारको लाचारी हो ।”

शिक्षा मन्त्रीले प्रहरी प्रशासन लगाएर आफूहरुलाई दवाउन खोजेको उहाँले आरोप लगाउँनु भएको छ । हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका छन् । देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका हुन् । ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित गर्ने प्रस्तावित प्रावधानमा शिक्षकहरुको असहमति रहँदैं आएको छ ।

 

 

 

सम्बन्धित खबरहरु