काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका लागि नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ लोगो र फुटबल गीत पनि सार्वजनिक गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सीसँगै एन्फाको लोगो र फुटबल गीत सार्वजनिक गरेको हो । नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टी एन्फाको लोगो रहेको छ ।

यो भन्दा पहिलेको जर्सीमा त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो अहिले त्यसलाई हटाइएको हो । जर्सीमा सगरमाथाको आकृति पनि रहेको छ । यसअघि नेपाली फुटबलको जर्सी २०७४ सालमा परिवर्तन गरिएको थियो । केल्मीले नेपाली फुटबललाई स्पोन्सर गरेपछि जर्सीको डिजाइन परिवर्तन गरिएको थियो र अहिले पनि स्पोन्सर केल्मी नैं रहेको छ ।

यता एन्फाको पनि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । एन्फाको लोगोको माथि सगरमाथा रहेको छ । लोगोको तल्लोपट्टी नेपालको झण्डा पनि राखिएको छ । लोगोको एक छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतिक पनि बनाइएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गर्नुभएको हो । ५७० वटा डिजाइनमा उत्कृष्ट मानिएको यो लोगोका डिजाइनर सन्दीपले ५० हजार रुपैयाँ पाउँनु भएको छ ।

एन्फाले पहिलो पटक फुटबल गीत पनि बनाएको छ । गीतको बोल छ, ‘फुटबल फुटबल फुटबल, हामी खेल्छौ देशको नाम राख्छौ ।’ यो गीत राष्ट्रिय गीतकै रचनाकार ब्याकुल माइलाले गर्नुभएको हो । प्रदीप बम्जनले संगीत भर्नुभएको गीतमा आनन्द कार्की, शिव परियार, इन्दिरा जोशी लगायतको आवाज रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबलमा अब विकासको गतिमा लागेको बताउँनुभयो ।

सम्बन्धित खबरहरु